नेपालकै लोकप्रिय फुटबल प्रतियोगिता झापा गोल्डकपको सातौँ संस्करणको तयारी पूरा भएको छ ।
भोलिदेखि डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा झापा ११ फुटबल क्लब र नेपाली पुलिस क्लब खेल्दै छन् ।
झापा गोल्डकपलाई अझ उत्कृष्ट, भव्य र परिष्कृत बनाउनका लागि सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष केदार गिरीले जानकारी दिए । प्रतियोगिताका लागि खेल मैदान र प्यारापिट निर्माणलगायतका काम सम्पन्न भएको उनले बताए ।
गोल्डकपका लागि झन्डै दुई महिना लगाएर उत्कृष्ट र शानदार मैदान बनाइ सकिएको छ । करिब १० हजार दर्शक बस्न मिल्ने गरी बाँसको प्यारापिट निर्माण गरिएको छ भने दर्शकको चाप हुन सक्ने अनुमानका साथ प्यारापिटको अघिल्लोतिर दर्शकका लागि प्लास्टिकको कुर्सी र भुइँमा बसेर हेर्न सहज होस् भनेर कार्पेट ओछ्याइएको वरिष्ठ उपाध्यक्ष गजेन्द्रबहादुर पौडेलले जानकारी दिए ।
यो प्रतियोगितालाई पूर्व अध्यक्ष विनोद बस्नेतको स्मृतिमा समर्पित गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको विजेता टिमले नगद १५ लाख र उपविजेताले नगद ७ लाख ५० हजार रुपैयाँ पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एकथान यामाहाको मोटरसाइकल प्रदान गरिनेछ ।
प्रतियोगिताका सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षकले नगद ३५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । यो वर्ष दाताबाट प्राप्त भएबमोजिम प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २५ हजार रुपैयाँ पाउने छन् ।
सातौँ संस्करणको उद्घाटनका दिन मैदान परिसरमा स्वर्गीय डोमालाल राजवंशीको शालिक अस्थायी रुपमा अनावरण गरिनेछ भने झापा जिल्लाका एकजना पुराना फुटबल खेलाडीलाई नगद २५ हजारसहित सम्मान गरिनेछ । यो वर्ष पनि खेल सञ्चालन हुने रंगशालाको जग्गादाता डोमालाल राजवंशीकी छोरी सम्पत्ति राजवंशीलाई नगद एक लाख रुपैयाँ सहयोग प्रदान गरिने कोषाध्यक्ष चन्द्रमणि कट्टेलले जानकारी दिए ।
त्यस्तै हिम इलेक्ट्रोनिक प्रालिको तर्फबाट बिर्तामोडस्थित महेन्द्ररत्न स्टोर्सले प्रत्येक दिन टिकट लिएका एकजना दर्शकलाई एकथान ३२ इन्चको एलइडी टिभी र मोबाइल ग्यालेरी बिर्तामोडको तर्फबाट दुईजना दर्शकलाई एअरबड प्रदान गरिनेछ भने प्रतियोगिता अवधिभरका दर्शकहरुमध्ये टिकट लिएका एकजना दर्शकलाई फाइनल खेलका दिन एकथान यामाहाको स्कुटर प्रदान गरिनेछ ।
प्रतियोगिताको फाइनल खेल फागुन ४ गते हुनेछ । सञ्चालनको लागि एक करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।







