झापाको बिर्तामोड-२ मा अवस्थित सहारा साकोस शिक्षा सदनले आठौं वार्षिकोत्सव कार्यक्रम विविध शैक्षिक तथा सांस्कृतिक गतिविधिसहित सम्पन्न गरेको छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष विन्दू श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिका शिक्षा शाखा प्रमुख तीलचन भण्डारी प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा सहारा नेपाल शिक्षा सदनका सञ्चालक तथा सहारा नेपाल साकोसका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले विद्यालयको दीर्घकालीन शैक्षिक तथा भौतिक विकाससम्बन्धी आगामी योजना सार्वजनिक गर्दै विद्यालयको पूर्वाधार विकासका लागि पाँच विगाह जमिन व्यवस्थापन भइसकेको जानकारी दिए ।
कार्यक्रममा ‘पढ्दै कमाउँदै’ कार्यक्रम लागू गर्ने योजना पनि सार्वजनिक गरिएको थियो । यस कार्यक्रममार्फत विद्यार्थीलाई आत्मनिर्भर बनाउने वातावरण विद्यालयले नै सिर्जना गर्ने छ विद्यालयका सञ्चालक गिरीले भने आठवर्ष अघिबाट सुरु भएको यो विद्यालयलाई नेपालकै नमूना विद्यालय बनाउने लक्ष्य हामीले लिएका छौं सम्पूर्ण विद्यार्थी र तपाई आम अभिभावकको साथ हामीलाई चाहिएको छ ।
यस वर्षदेखि कक्षा थप गर्दै क्रमश: कक्षा १२ सम्म अध्ययन गराउने व्यवस्थापन मिलाइने, इसिए गतिविधि विस्तार गरिने र विद्यार्थीलाई प्रोजेक्ट वर्कमा जोड दिइने योजना समेत विद्यालयले अघि सारेको उनको भनाई थियो ।
यसैबीच वार्षिकोत्सव कार्यक्रममा शैक्षिक सत्र २०८१ का उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको थियो । विद्यार्थी जेनिस तिवारी र विराज आचार्यले कविता वाचन गरेका थिए भने सरस्वती वन्दना, गुरु वन्दना र कराँते प्रदर्शन प्रस्तुत गर्दा अभिभावक भावुक देखिएका थिए ।
विद्यार्थी सृष्टि खतिवडाले स्वागत मन्तव्य राखेको कार्यक्रममा विद्यालयका शैक्षिक गतिविधिमाथि प्रिन्सिपल विष्णु सिंहले प्रकाश पारेका थिए ।







