झापाको बिर्तामोड-५ स्थित न्यूटन्स एजुकेशन फाउण्डेशनले ‘ विद्यार्थीहरु अब विज्ञान पढेर मात्र होइन, गरेर पनि सिक्छन्’ भन्ने मुल नाराका साथ ‘कारखाना’ कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
दुई वर्ष अघि विद्यालयले सञ्चालन गरेको कारखाना कार्यक्रम अन्तरगत विद्यार्थीले तयार गरेका विज्ञान सामाग्री मंगलबार स्मार्ट एभरेष्ट स्कुलमा प्रदर्शन गरिएको हो ।
न्यूटन्सका कक्षा ५, ६ र ७ का विद्यार्थीहरुले तयार गरेका विज्ञान बस्तु प्रस्तुत गरेका छन् । यसअघि कक्षा ४, ५ र ६ मा सञ्चालन गरिएको कारखाना कार्यक्रममा कक्षा-४ का विद्यार्थीहरुको उमेर कम भएकाले प्रभावकारिता नभएकोले यस वर्ष कक्षा ५, ६ र ७ लाई कार्यक्रममा समावेश गरिएको विद्यालयका प्रिन्सिपल देबेन्द्र हुमागाँईले जानकारी दिए ।
उनका अनुसार यस कारखाना कार्यक्रमलाई आगामी दिनमा कक्षा ८ मा पनि जोडिनेछ । विद्यार्थीले आफैं बसेको ब्रेन्चमा तयार गरेका विज्ञानसँग सम्बन्धीत बस्तुहरुलाई अभिभावकको उपस्थितिमा प्रदर्शन गरिएको प्रिन्सिपल हुमागाँईले बताए ।
पढेको कुरा गरेर सिकौं ज्ञान र सीपलाई व्यहारसँग जोडेर जाऔं भन्ने उद्देश्यले बिद्यालयले कारखाना कार्यक्रम सञ्चालन गरेको उनले बताएका छन् । झापामा विद्यार्थीका लागि कारखाना कार्यक्रम सञ्चालन गर्ने पहिलो विद्यालय न्यूटन्स रहेको बताइएको छ ।







