पूर्वाञ्चल क्यान्सर अस्पतालले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा बिर्तामोडको निधि अंग्रेजी माध्यमिक विद्यालयकी छात्रा सोफिया खड्का प्रथम भएकी छन् ।
‘क्यान्सरमुक्त भविष्यका लागि युवा’ विषयक प्रतियोगितामा झापाका १० वटा माध्यमिक विद्यालय एवम् कलेजका विद्यार्थीले भाग लिएका थिए ।
प्रतियोगितामा बिर्तामोडकै गोमेन्द्र कलेजकी छात्रा यमुना निरौला द्वितीय र मेचीनगरको इस्ट होराइजन अंग्रेजी माध्यमिक विद्यालयकी छात्रा सदीक्षा अधिकारी तृतीय भएका थिए ।
अस्पतालले प्रथम, दोस्रो र तेस्रो भएका छात्रालाई पदक, प्रमाणपत्रसहित पुरस्कृत गरेको थियो । अस्पतालकी सञ्चालक एवम् डा.अञ्जलि कार्की प्रसाईं, मेडिकल सुपरिन्टेन्डेन्ट एवम् प्रमुख अतिथि डा.वीरेन्द्र यादव, जनसम्पर्क अधिकृत प्रमिश गिरी लगायतले बिजयी विद्यार्थीलाई प्रमाणपत्र तथा पदक प्रदान गरेका थिए ।
अस्पतालकी सञ्चालक डा.अञ्जलि कार्की प्रसाईंको अध्यक्षता र मेसु डा.यादवको प्रमुख आतिथ्यमा भएको प्रतियोगितामा प्राध्यापक रुद्र थापा, पत्रकार मोहन काजी र सामाजिक अभियन्ता सन्तोष अग्रवालले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
जनसम्पर्क अधिकृत गिरीले स्वागत गरेको कार्यक्रममा क्यान्सर रोगको उपचार र सचेतनाका विषयमा डा.वीरेन्द्र यादवले मन्तव्य राखेका थिए ।







