आगामी फागुन २१ गते हुने प्रतिनिधि सदस्य निर्वाचनमा आचारसंहिता पालना गर्ने झापाका राजनीतिक दलले सामुहिक प्रतिबद्धता जनाएका छन् ।
आसन्न निर्वाचनका लागि दल तथा उम्मेद्वारहरुले पालना गर्नु पर्ने आचारसंहिता पालना गर्न आफुहरु प्रतिबद्ध रहेको धारणा व्यक्त गरेका हुन् ।
आइतबार बिर्तामोडमा संवाद समूहले आयोजना गरेको छलफलमा बोल्दै दलहरुले घृणा जगाउने अभिव्यक्ति बन्द गर्दै शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्नका लागि आफुहरु तयार रहेको साझा धारणा व्यक्त गरेका थिए । तर उनीहरुले अझै पनि चुनावी वातावरण बन्न नसकेको भन्दै फरार कैदी र हतियार सुरक्षा थ्रेट रहेको उल्लेख गरेका छन् ।
आसन्न प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न झापाका राजनीतिक दल, सुरक्षा निकाय र प्रशासनले साझा प्रतिबद्धता व्यक्त गर्दै आवश्क समन्व्य गर्न तयार रहेको बताएका हुन् ।
दलहरूले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्ने र सामाजिक सञ्जालमार्फत हुने दुष्प्रचार रोक्न आफ्नो ठाउँबाट पहल गर्ने सामूहिक अठोट गरेका हुन् । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले निर्वाचन आचारसंहिता २०८२ को कानूनी व्यवस्थाबारे प्रष्ट पार्दै २४ वटा विभिन्न क्षेत्र र समूहले यसको अनिवार्य पालना गर्नुपर्ने बताए ।
उनले फागुन ४ गतेपछि मात्रै जुलुस, र्याली र कोणसभा गर्न पाउने व्यवस्था रहेकाले अहिलेदेखि नै हुन सक्ने उल्लंघनका क्रियाकलापमा प्रशासनले निगरानी गरिरहेको बताएका छन् ।







