फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावको तयारीले देश नै चुनावमय बनेको छ ।
सबै दलहरू चुनावको तयारीमा व्यस्त भएकाले चौतारीदेखि चियापसल हुँदै ठूला सभामा पनि चुनावको चर्चा बढेको हो ।
नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलहरूले उम्मेदवार छनोट लगभग सकेका छन् भने ठूलो र आन्तरिक विवादमा फसेको दल नेपाली कांग्रेस पनि उम्मेदवार टुङ्ग्याउने अन्तिम तयारीमा छ ।
आयोगले प्रत्यक्षतर्फको उम्मेदवार मनोनयन दर्ताको समयसीमा आजका लागि तोकेको छ । समानुपातिकतर्फ १ सय १० सिटका लागि दलहरूले उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाइसकेका छन् । उम्मेदवार बन्न पालिका र प्रदेशका जनप्रतिनिधिहरूले राजीनामा बुझाउनेदेखि ठूला शहरमा सभा गर्नेसम्मका काम भइरहेका छन् ।
निर्वाचन आयोगले मतपत्र छपाइ, निर्वाचन कार्यालय स्थापना र मुख्य/निर्वाचन अधिकृत पनि तोकिसकेको छ । आयोगले मतदाता, मतदानस्थल र मतदान केन्द्रको पनि टुङ्गो लगाएर जिल्ला-जिल्लामा सूची पठाइसकेको छ ।
सरकार पनि निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थापन र त्यहीअनुसार जनशक्ति परिचालनमा जुटेको छ । चुनावका लागि निर्वाचन प्रहरी भर्ना प्रक्रिया चलिरहेको छ । फागुन २१ गते हुने चुनावमा समानुपातिकतर्फ ५८ दल र प्रत्यक्षमा १ सय १४ दल सहभागी हुँदैछन् । चुनावमा झन्डै १ करोड ९० लाखभन्दा धेरै मतदाता मतदानमा भाग लिन पाउने छन् ।







