राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) कोशी प्रदेश समितिको आयोजनामा विद्यालय शिक्षामा रूपान्तरणसम्बन्धी प्रदेशस्तरीय एकदिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
इनरुवा नगरपालिका-३ स्थित सखुवा चोकमा सम्पन्न उक्त कार्यक्रमले विद्यालय शिक्षामा व्यवहारिक तथा दीर्घकालीन सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्ने एन-प्याब्सन कोशी प्रदेशका कार्यवाहक अध्यक्ष कमल खनालले जानकारी दिए ।
प्रशिक्षण कार्यक्रममा इन्सपाएर एजुकेशन सानोठिमी भक्तपुरका एजुकेसन साइकोलोजिस्ट इन्द्रप्रसाद प्रसाई प्रमुख प्रशिक्षक तथा पेडागोजी एक्सपर्ट अब्देश के.सी.सह-प्रशिक्षकको रूपमा सहभागी थिए ।
एन-प्याब्सन कोशी प्रदेश कार्यवाहक अध्यक्ष कमल खनालको अध्यक्षता भएको कार्यक्रमको प्रमुख अतिथि केन्द्रीय उपाध्यक्ष सूर्यबहादुर अधिकारी रहेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय उपाध्यक्ष अधिकारीले प्रशिक्षण कार्यक्रमले विद्यालयको शैक्षिक गुणस्तर, व्यवस्थापन क्षमता तथा विद्यार्थी-केन्द्रित सिकाइ प्रक्रियामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका थिए । उनले निजी तथा आवासीय विद्यालयहरू समयसापेक्ष परिवर्तनसँगै अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका थिए ।
एन-प्याब्सन सुनसरीका अध्यक्ष खगेन्द्र केसीको संयोजनमा भएको प्रशिक्षणमा सहभागीहरूले प्रदेशस्तरीय यस कार्यक्रमले विद्यालय शिक्षामा ठोस र देखिने परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन् ।
कार्यक्रममा केन्द्रीय उपाध्यक्ष तथा कोशी इन्चार्ज कुमारबहादुर भट्टराई, केन्द्रीय सदस्य नारायण ढकाल, एन-प्याब्सन झापाका अध्यक्ष धर्मराज माझी, मोरङका अध्यक्ष इन्द्रनारायण साह लगायत ५० विद्यालयका १०० भन्दा बढी संस्थापक, प्रधानाध्यापक, सह-प्रधानाध्यापक तथा विद्यालय इन्चार्जहरूको सहभागिता रहेको थियो ।







