झापाको अर्जुनधारा नगरपालिका-५ वैशावारीमा अवस्थित रेन्बो स्माइल मन्टेश्वरी स्कुलको ५ औं वार्षिकोत्सव सम्पन्न भएको छ ।
शनिवार विद्यालय परिसरमा विविध कार्यक्रम गर्दै वार्षिकोत्सव सम्पन्न भएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा अर्जुनधारा नगर उपप्रमुख खड्गमाया पराजुलीको प्रमुख आतिथ्यता रहेको थियो ।
स्कुलकी प्रिन्सिपल पुष्पा कोइरालाले कार्यक्रममा उपस्थिति अतिथिहरुलाई स्वागत गर्दै आगामी शैक्षिक सत्रदेखि कक्षा ५ सम्म पठनपाठन गराउने जानकारी गराएकी थिइन् ।
विद्यालय स्थापना गर्न सहजीकरण गर्ने पूर्व वडाध्यक्ष ध्यानबहादुर भारती र जेष्ठ नागरिक चित्रबहादुर रायलाई सम्मान गरिएको स्कुलका सञ्चालक भास्कर भट्टराईले जानकारी दिए ।
नानीबाबुहरुले विभिन्न संस्कृति झल्कने नृत्य प्रस्तुत गरेको कार्यक्रममा नगरका शिक्षा शाखा प्रमुख हरिबहादुर कुवँर, नव दुर्गा आविका प्रधानाध्यापक तोयानाथ ओली, समाजसेवी उकान्त ढुङ्गेल, गणेश खड्का लगायतको आतिथ्य रहेको थियो ।







