झापाको अर्जुनधारा नगरपालिका-६ स्थित बाल कल्याण आधारभूत विद्यालयले लोगो सार्वजनिक गरेको छ ।
विद्यालयको रजत वार्षिकोत्सवलाई लक्षित गरि शनिबार एक कार्यक्रमका बीच लोगो सार्वजनिक गरिएको हो ।
विद्यालयले आगामी माघ २७ गते रजत जयन्ती मनाउँदै छ । कार्यक्रमका प्रमुख अतिथि अर्जुनधारा-६ का वडाध्यक्ष हरिशचन्द्र बाँस्तोलाले लागो सार्वजनिक गरेका हुन् ।
सार्वजनिक गरिएको लोगोमा २५ वटा तारा, विद्यालय र एक जोडी परेवाको चित्रसहित २५ अंक समावेश छ ।
२०५७ सालमा स्थापना भएको विद्यालयको रजत वार्षिकोत्सवको तयारी र वार्षिकोत्सवको अवसरमा विद्यालयले गर्ने विभिन्न विषय बारे सबैलाई जानकारी गराउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको प्रधानाध्यापक डम्बर यादवले बताए ।
उनले दाताहरुको सहयोगमा सञ्चालित विद्यालयलाई धेरै कठिनाई र संघर्षका बाबजुत यहाँ सम्म ल्याइ पुर्याइएको स्मरण गरे । उनले रजत महोत्सव सफल बनाउन सामाजिक व्यक्तित्व, समाजसेवी, बुद्धिजिवि सहित अभिभावकलाई आर्थिक सहितको सहयोग गर्न आग्रह समेत गरेका छन् । उनले महोत्सव सम्पन्न गर्न करीब १० लाख खर्च लाग्ने अनुमान गरिएको बताउँदै सबैले सकेको सहयोग गर्न आग्रह गरे । उनले आफ्नो तर्फबाट व्यक्तिगत २१ हजार रुपैंया दिने समेत घोषणा गरेका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेश प्रसाईंको अध्यक्षतामा कार्यक्रममा विद्यालयका सल्लाहकार समितिका संयोजक एवम् निवर्तमान वडाध्यक्ष लोकनाथ गौतम, वार्षिकोत्सव मूल आयोजक समारोह आर्थिक उपसमितिका संयोजक गोपाल चुँडाल लगायतले आ-आफ्नो धारणा राखेका थिए ।
प्रधानाध्यापक यादवले विद्यालयको पृष्ठभूमि, वार्षिकोत्सवको तयारीसँगै स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक मदनकुमार निरौलाले गरेका थिए ।







