झापाको बिर्तामोड-४ मा अवस्थित गोमेन्द्र बहुमुखी कलेजले नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेको छ ।
कलेजले शनिबार बिर्तामोड-१ हेवान वाटर पार्क छेउमा रहेको चिरायु पार्टी प्यालेसमा एक समारोहको आयोजना गरेर नवआगन्तुक बिबिए, बिसिए आइटी, बि-टेक आइटी र एमबीए प्रथम सेमिस्टारका विद्यार्थीहरुलाई स्वागत गरेको हो ।
कलेजका संस्थापिका बुध खनालको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षासेवी, साहित्यकार, समाजसेवी तथा दानवीर प्राज्ञा लोकनाथ पौड्यालको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि पौड्याल, दृष्ट्रिहीनका अभिभावक खिलप्रसाद शिवाकोटी, लायन्स क्लव अफ बिर्तामोड लेडीकी अध्यक्ष यशोदा उप्रेती, वीरता लेडी जेसीजकी पूर्व अध्यक्ष संगीता गिरीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सोही कार्यक्रमकाबिच गोबिन्द-इन्द्र भूर्तेल पुरस्कारबाट विद्यार्थी भावना राजवंशी र शिक्षा सेवा पुरस्कारबाट कलेजका कर्मचारी मित्रलाल प्रसाईलाई सम्मान गरिएको थियो । उनीहरुलाई जनही ५ हजार ५ सय ५५ रुपैयाँसहित पुरस्कृत गरिएको कलेजका प्राचार्य डा.खनालले बताए ।
कलेजकी सहायक प्राचार्य सरु भुर्तेल खनालले स्वागत गरेको कार्यक्रममा औचित्यमाथि प्रकाश कलेजका प्राचार्य डा.रुपकप्रसाद खनालले पारेका थिए ।
विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन बीबीए को-अडिनेटर शेखर पाण्डेले गरेका थिए ।







