इलामको रोङ गाउँपालिकाले अभिभावकविहीन बालबालिकाको शिक्षाको जिम्मेवारी लिएको छ ।
विभिन्न कारणले बाबुआमा गुमाएका बालबालिकाको शिक्षाको जिम्मेवारी गाउँपालिकाले लिएको हो ।
पालिकाभित्र २१ जना बालबालिका अभिभावक विहीन छन् । उनीहरूको दैनिक पठनपाठनमा हुने खर्चको जिम्मेवारी पालिकाले लिएको हो । बाबु आमाको मृत्यु भएको, आमाले हेरचाह नगरेको, बाबुआमाले अन्तै विवाह गरेर साहारा विहीन बनेका बालबालिकाको शैक्षिक जिम्मेवारी पालिकाले लिएको जनाएको छ ।
गाउँपालिकाले बिहीबार एक कार्यक्रमको आयोजना गरी बाबुआमा नभएका बालबालिकाको शैक्षिक सामग्री, कापी, कलम तथा पोसाक, झोला, जुत्तालगायतका शैक्षिक सामग्रीको जिम्मेवारी लिएको हो । पालिकाले अध्यक्षसँग विद्यार्थी कार्यक्रम अन्तर्गत अभिभावकत्व ग्रहण गरेको हो ।
अभिभावकविहीन बालबालिकाको पोसाक तथा शैक्षिक सामग्रीका लागि पालिकाले वार्षिक १० हजार रुपियाँ खर्च गर्ने पालिकाका अध्यक्ष मनि कुमार स्याङबो (सुवास)ले बताए । आमाबाबु दुवै नभएका बालबालिकाका लागि आवश्यक पोसाक र शैक्षिक सामग्री खरिद गर्न प्रति बालबालिका वार्षिक १० हजार रुपियाँ खर्च गरिने र क्रमिक रुपमा त्यसलाई बढाउँदै समेत लगिने पालिकाका अध्यक्ष स्याङबोले बताएका हुन् ।
अहिले सुरुमा एक हाईडोपावर कम्पनीले समेत सहयोग गरेको उनले जानकारी दिए । बाबुआमा नभएका बालबालिकाले सामुदायिक विद्यालयमा नि:शुल्क पढ्न पाउने भए पनि शैक्षिक सामग्री नहुँदा शिक्षाबाट वञ्चित हुने अवस्था आएकाले पालिकाले अभिभावकत्व ग्रहण गरेको उनको भनाइ छ । पहिलो चरणमा पालिकाले पालिकाभित्र रहेका अभिभावक विहीन २१ जना बालबालिकाका लागि ५ लाख रुपैयाँ बराबरको दुर्घटना बिमा, १ लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमा गरिदिएको छ ।
त्यसैगरी ती २१ जनै बालबालिकाको बैंक खाता खोलिदिएर एकमुस्ट ३०-३० हजार रुपैयाँ पनि जम्मा गरिदिएको हो । २१ जना बालबालिकाको खातामा गाउँपालिकाले १०-१० हजार रुपैयाँ र सिद्धि खोला हाइड्रोपावर कम्पनीले २०-२० हजार जम्मा गरिदिएको अध्यक्ष स्याङ्बोले बताए । बालबालिकाहरूले कक्षा १२ सकेपछि यो रकम निकाल्ने छन् ।







