निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) झापाको आयोजना र प्याब्सन अर्जुनधाराको सञ्चालनमा सोमबारदेखि वृहत वार्षिक खेलकुद कार्यक्रम २०८२ सुरु भएको छ ।
अर्जुनधारा नगरपालिका-३ स्थित कैदले खेल मैदानमा पुरुष क्रिकेट प्रतियोगिताबाट (कक्षा १० सम्म) सुरु भएको उक्त कार्यक्रमको प्याब्सन अर्जुनधाराका प्रमुख सल्लाहकार रुद्र सिटौलाले उद्घाटन गरेका थिए ।
आगामी मंसीर ५ गतेसम्म हुने कार्यक्रम अन्तरगत क्रिकेटसँगै फुटबल, भलिबल, कबड्डी, टेबलटेनिस, एथलेटिक्स, उसु, कराँते, तेक्वान्दो र चेस खेलका विभिन्न विधामा प्रतिस्पर्धा हुने प्याब्सन अर्जुनधाराका सचिव ताराप्रसाद नेपालले जानकारी दिए ।
जसअनुसार पुरुष एवम् महिला भलिबल प्रतियोगिता (कक्षा १० सम्म), आधारभूत तह फुटबल प्रतियोगिता (४ फिट आठ इञ्च), आधारभूत तहस्तरिय फुटबल प्रतियोगिता, पुरुष एवम् महिला कबड्डी (कक्षा १० सम्म) रहेका छन् ।
त्यसैगरी आधारभूत एवम् माध्यमिक तहस्तरिय पुरुष एवम् महिला टेबलटेनिस प्रतियोगिता (एकल र युगल), आधारभूत एवम् माध्यमिक तहस्तरिय उसु, कराँते र तेक्वान्दो प्रतियोगिताका विभिन्न विधा, पुरुष एवम् महिला खुला चेस प्रतियोगिता रहेका छन् ।
प्रतियोगिताका खेलहरु कैदले खेल मैदानसँगै अर्जुनधारा-८ स्थित एम्स एकाडेमी, अर्जुनधारा-९ स्थित नमूना खेल मैदान, अर्जुनधारा-६ स्थित ब्रीलियन्ट पिपुल्स सेकेण्डरी स्कूल, अर्जुनधारा-८ स्थित शनिश्चरे माध्यमिक विद्यालयको कभर्ड हल र अर्जुनधारा-६ स्थित हिमाली एजुकेशन फाउण्डेशनमा सञ्चालन हुने कार्यक्रमको तालिकामा उल्लेख गरिएको छ ।
पालिकाका ३५ वटा संस्थागत विद्यालयका पाँच हजार जना बढी विद्यार्थीले प्रतिस्पर्धा गर्ने बताइएको छ ।
प्याब्सन अर्जुनधाराका उपाध्यक्ष प्रविन कार्कीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्याब्सन झापाका सल्लाहकार प्रभुकुमार श्रेष्ठ, सदस्यद्वय दीपेन्द्र सुब्बा र सुमन शर्मा जम्मरकट्टेललगायतको सहभागिता रहेको उद्घाटन समारोहको सञ्चालन सचिव नेपालले गरेका थिए ।







