झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकपको अन्तिम सेमिफाइनलमा एपिएफ फुटबल क्लबले रोमाञ्चक जित निकालेको छ ।
त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४-२ ले पराजित गर्दै एपिएफले फाइनलमा नेपाल पुलिस क्लबसँगको विभागीय भिडन्त सुनिश्चित गरेको हो ।
खेलको सुरुवातदेखि नै दुबै टोली आक्रमणमुखी खेलशैलीमा उत्रिएका थिए । खेलको ६३ औँ मिनेटमा आर्मीले अग्रता लिन सफल भयो । डिफेन्डर निशा थोकर र गोलकिपर अञ्जना रानाबीचको तालमेल बिग्रँदा चन्द्रा भण्डारीले सहज गोल गर्दै आर्मीलाई १-० को अग्रता दिलाइन् ।
इन्ज्युरी समयमा खेल नाटकीय मोड लियो । आर्मीकी विमला चौधरीले ह्यान्डबल गरेपछि एपिएफले करिब २५ यार्ड दूरीबाट फ्रिकिक पायो । कप्तान अनिता बस्नेतको उत्कृष्ट फ्रिकिक गोल हुँदै खेल १-१ बराबरीमा पुग्यो ।
निर्धारित समय बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट भयो । टाइब्रेकरमा एपिएफका सबिता राना, अनिता बस्नेत, निशा थोकर र रश्मिकुमारी घिसिङले गोल गरे भने रेनुका हमालको प्रहार आर्मीकी गोलकिपर कोपिला खड्काले रोकिन् ।
आर्मीका विमला बिक र अनिता लम्जेलले मात्र गोल गर्न सके, जबकि विमला चौधरी र सुस्मिता चौधरीका प्रहार एपिएफकी अञ्जना राना मगरले बचाइन् । एपिएफकी गोलकिपर अञ्जना राना मगर प्लेयर अफ द म्याच घोषित भइन् । उनले १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरिन् ।
प्रतियोगिताको विजेता टोलीले नगद १० लाख १० हजार रुपैयाँ, उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई १ लाख ५० हजार रुपैयाँ र उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान खेलाडी र उच्च गोलकर्तालाई २५ हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिनेछ ।
हरेक खेलको प्लेयर अफ द म्याचलाई १५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिने व्यवस्था गरिएको छ । प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ ।







