झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप अन्तर्गत भएको पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबले संकटा फुटबल क्लबलाई २-० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ ।
प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफमा दुबै टोलीले गोल गर्न सकेनन् । ७० औँ मिनेटमा पुलिसले खेलमा अग्रता बनायो । करिब ३० यार्ड टाढाबाट पूजा रानाले दिएको फ्रिकिकमा मिना देउबाले सटिक हेड मार्दै गोल गरिन् । त्यसपछि ८२ औँ मिनेटमा पुलिसले अग्रता दोब्बर बनायो । संकटाकी कप्तान यशोदा शाहीले बल क्लियर गर्न नसक्दा रेखा पौडेलले मौका सदुपयोग गर्दै दोस्रो गोल गरिन् ।
२-० को जितसँगै नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ भने संकटा क्लब प्रतियोगिताबाट बाहिरिएको छ । पुलिसले अब उपाधिका लागि फाइनलमा भोलि हुने एपिएफ र त्रिभुवन आर्मीबीचको विजेतासँग सामना गर्नेछ ।
खेलको प्लेयर अफ द म्याच पुलिसकी रेखा पौडेल भइन् । उनले नगद १५ हजार र ट्रफी पाइन् । प्रतियोगिताको विजेता टोलीले नगद १० लाख १० हजार रुपैयाँ, उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई १ लाख ५० हजार रुपैयाँ र उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान खेलाडी र उच्च गोलकर्तालाई २५ हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिनेछ ।







