विदेशी विद्यार्थी र पत्रकारले अब छोटो समय मात्रै अमेरिका बस्न पाउने भएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विदेशी नागरिकले अमेरिकामा विद्यार्थी भिसामा चार वर्षभन्दा बढी बस्न नपाउने प्रावधान लागू गर्न लागेको समाचार संस्था एएफपीले जनाएको छ ।
विदेशी पत्रकारलाई दुई सय ४० दिनको मात्र अमेरिका बसाइ अनुमति दिइनेछ । यद्यपि उनीहरूले थप दुई सय ४० दिनको समयावधि बढाउन आवेदन दिन सक्ने भनिएको छ । तर चिनियाँ पत्रकारहरूको हकमा भने केवल ९० दिनको मात्र अमेरिका बसाइ अनुमति मिल्नेछ ।
अमेरिकाले अहिलेसम्म सामान्यतया विद्यार्थीको शैक्षिक कार्यक्रम वा पत्रकारको कामको अवधिको लागि भिसा दिँदै आएको छ । अमेरिकामा कुनै पनि गैर–आप्रवासी भिसा १० वर्षभन्दा बढीको लागि मान्य नहुने कानूनी व्यवस्था छ ।
ट्रम्पको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले विदेशीहरूले निश्चित स्वार्थका लागि आफ्नो अध्ययन अवधि लम्ब्याउने गरेका आरोप लगाएको खबरमा उल्लेख छ ।







