नेपालको चर्चित गायन रियालिटी सो सारेगमप लिटल च्याम्स सिजन २ को टप ८ मा पर्न सफल संस्कार सापकोटालाई भोट गर्न आग्रह गरिएको छ ।
बिर्तामोड-५ निवासी सापकोटालाई भोट गरेर विजय गराउन उनका पिता भरत सापकोटा र माता रत्नाकुमारी ओझा सापकोटाले आग्रह गरेका हुन् ।
बिर्तामोडस्थित उद्योग वाणिज्य संघको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनलाई विजयी बनाउन भोटको आवश्यक रहेकाले संस्कारलाई भोट गर्न आग्रह गरिएको हो ।
नेपालसहित विश्वका विभिन्न देशमा रहेका नेपाली भाषीबीच भएको प्रतिष्पर्धामा ३५ हजार प्रतियोगीलाई पछि पार्दै उनी टप ८ मा पुग्न सफल भएका छन् ।
बिर्तामोडस्थित सप्तक संगीतालयमा संगीत सिकेका संस्कार बिर्तामोडस्थित न्यूटन एजुकेशन एकाडेमीका विद्यार्थी हुन् । उनलाई भोट गर्न बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले सबै व्यवसायीलाई आग्रह समेत गरेका छन् ।
सप्तक संगीतालयका संस्थापक कुशल पौडेलले संस्कार अध्ययनसँगै गीत संगीतमा रुची राख्ने विद्यार्थी भएको र उनी संगीत क्षेत्रमा अब्बल बन्दै गएको बताए । उनले संस्कारलाई लिटल च्याम्प बनाउन भोटको आवश्यक रहेकाले सबैले भोट गरेर विजयी गराउन आग्रह गरेका छन् ।
उक्त पत्रकार सम्मेलनमा वाणिज्य संघका उपाध्यक्ष विशाल थापा, जीवन खड्का, महासचिव कुशल खतिवडा, सचिव राजकुमार साह लगायत संघका पदाधिकारी, धार्मिक तथा सामाजिक व्यक्तित्व अनिल ढुङ्गाना, टहलदास ओली, भुपेन्द्र भण्डारी लागयतको सहभागीता रहेको कार्यक्रमको सञ्चालन सप्तक संगीतालयकी सञ्चालक आकृति खतिवडाले गरेकी थिइन् ।
उनलाई भोट गर्नका लागि नेपाल भित्र रहनेले खल्ती एप मार्फत khalti by IME मार्फत गर्न सकिने छ भने नेपाल वाहिर रहनेहरुले khalti.com वेवसाइड मार्फत गर्न सकिने साथै आर्थिक सहयोग गरेर पनि उनलाई भोट गर्न सकिने संस्कारकी आमा रत्नाकुमारी सापकोटाले बताइन् ।







