झापाको कचनकवल गाउँपालिकामा आँखा स्वास्थ्य शिक्षा तालिम सम्पन्न भएको छ ।
गाउँपालिकाको आयोजना तथा मेची आँखा अस्पताल बिर्तामोडको सहकार्यमा एकदिने आँखा स्वास्थ्य शिक्षा तालिम बिहीबार सम्पन्न भएको हो ।
तालिममा गाउँपालिकाभित्रका सम्पूर्ण विद्यालयका प्रधानाध्यापकहरूको सहभागिता रहेको थियो । कार्यक्रममा ६ देखि १८ वर्ष उमेर समूहका सम्पूर्ण बालबालिकाहरूको नि:शुल्क आँखा जाँच, चश्मा वितरण तथा उपचार कार्यक्रमको पूर्वतयारीस्वरूप शिक्षकहरूलाई आवश्यक जानकारी तथा अभिमुखीकरण गरिएको थियो ।
तालिममा मेची आँखा अस्पतालका प्रशिक्षक युवराज बोहोरा र पुष्पप्रसाद अधिकारीले आँखा स्वास्थ्य, बालबालिकामा देखिने सामान्य समस्या, रोकथामका उपाय, शिक्षण विधिलगायतका विषयमा सहजीकरण गरेका थिए ।
कार्यक्रममा कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशी, उपाध्यक्ष नवराज भट्टराई, प्रमुख प्रशासकीय अधिकृत स्काई पोखरेलले तालिम सफलतापूर्वक सम्पन्न गर्नमा सहकार्य गर्ने मेची आँखा अस्पताल परिवार, प्रशिक्षकद्वय, सहभागी शिक्षकहरू तथा सम्पूर्ण सहयोगी पक्षप्रति आभार व्यक्त गर्दै धन्यवाद दिएका छन् ।







