झापा क्लस्टर प्याब्सनको आयोजनामा सामाजिक सुरक्षा कोष, कर र आन्तरिक लेखा व्यवस्थापनसम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा सामाजिक सुरक्षा कोष विराटनगरका कार्यालय प्रमुख दीपकराज भट्ट र आन्तरिक राजस्व कार्यालय दमकका कर अधिकृत ज्ञानेन्द्र कुमार यादवले संयुक्त रूपमा प्रशिक्षण दिएका थिए ।
उनीहरूले योगदानमा आधारित सामाजिक सुरक्षा कोषको संरचना, कार्यान्वयन प्रक्रिया, कर सम्बन्धी कानुनी प्रावधान तथा विद्यालयहरूको आन्तरिक लेखा व्यवस्थापन प्रणालीबारे सहभागीहरूलाई प्राविधिक रूपमा जानकारी गराएका थिए ।
झापाको शिवसताक्षीस्थित वाटर किङ्गडम पार्कमा भएको कार्यक्रमका प्रमुख अतिथि शिवसताक्षी नगरपालिका-८ का वडाध्यक्ष सन्तकुमार फेउदेनले मन्तव्य राख्दै शिक्षासँग सम्बन्धित यस्ता विषयगत कार्यक्रमहरू स्थानीय तहको पनि चासोको विषय भएको बताए ।
सो कार्यक्रममा गौरीगञ्ज गाउँपालिकाका पूर्व उपाध्यक्ष दिपेन्द्र थापाले निजी विद्यालयहरूले पारदर्शिता, उत्तरदायित्व र सामाजिक सुरक्षा प्रणालीको प्रभावकारी कार्यान्वयनमा नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिए ।
उक्त कार्यक्रममा प्याब्सनका कोशी प्रदेश सदस्य धुर्व गौतम, प्याब्सन झापाका सहसचिव विनोद सुब्बा, प्याब्सन हल्दीबारी गाउँपालिकाका अध्यक्ष याम दङ्गाल, गौरीगञ्ज गाउँपालिकाका प्याब्सन अध्यक्ष धनप्रसाद राजबंशी, प्याब्सनका विभिन्न तहका पदाधिकारी तथा सदस्यहरूको लगायतको सहभागिता रहेको थियो ।







