१७ साउन, बिर्तामोड । बिर्तामोडतिर अहिले माहोल गरमाएको छ । मध्य बर्खामा पानी नपरेपछी तातेको मौसम बर्षासँगै केही सितल भएपनि बिर्तामोडको माहोल भने तातेकै छ, कारण हो बिर्तामोडका जनप्रतिनिधीको लफडा ।
बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला र वडा नं. ८ का वडाध्यक्ष अजय कार्कीबिचको विवादले राजनीतिक रंग लिएपछी बिर्तामोड झन् तातेको हो ।
सामाजिक संजालमा विरोधीप्रती आक्रामक टिप्पणी गर्दै आएका उपप्रमुख संग्रौलाले वडाअध्यक्ष कार्कीका विषयमा गरेको एक कमेन्टको विषयलाई लिएर असन्तुष्ट वडाध्यक्ष कार्की साउन १५ गते बिहिबार समर्थकहरुको समुह लिएर उपमेयरको कार्यकक्षमा पुगे । सार्वजानिक भएको एक भिडियोमा दुवैपक्षबिच भनाभन भएको प्रष्ट देखिन्छ । आक्रामक देखिएका दुवैबिच तँ तँ र म म कै अवस्था सृजना भयो । केहीबेर हो हल्ला भएको माहोल साम्य त भयो तर यसलगतै यस घटनालाई राजनीतिक रंग पोत्न भ्याइहाले यहाँका राजनितिक दलहरुले ।
एमाले बिर्तामोडले विज्ञप्ती जारी गर्दै नगरपालिकाको कार्यकक्ष भित्र प्रवेश गरी गुण्डागर्दी शैली देखाउने र उपप्रमुख माथी आक्रमण गर्ने उद्देश्य राखेको भन्दै वडाध्यक्ष कार्की लाई कारवाही गर्न माग गऱ्यो ।
एमालेले सामाजिक संजालको प्रयोग गर्दा ध्यान पुऱ्याउन पनि जप्रतिनिधीहरुलाई आग्रह गऱ्यो । कुनै पनि सार्वजनिक वा निजी स्थानमा हुलहुज्जत गर्ने, गुण्डागर्दी गर्ने छुट कसैलाई नभएको भन्दै कानुनलाई हातमा लिने र हुलहुज्जत गर्दै उप–प्रमुख नगेन्द्र प्रसाद संग्रौलामाथी कुटपिटको प्रयास गर्ने वडाध्यक्ष कार्कीसहित उक्त कार्यमा सहभागी सबैलाई कानुन बमोजिम कारवाही गर्न विज्ञप्ति मार्फत जोडदार माग गरिएको छ, विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै एमालेको भातृ संगठन युवा संघले पनि विज्ञाप्ती मार्फत वडाध्यक्षले उपप्रमुख माथी गरेको व्यवहारको भर्त्सना गर्दै आफुहरु प्रतिकारमा उत्रिन बाध्य हुने चेतावनी नै दियो l
बिहिबारै बिर्तामोड नगरपालिकाको कार्यपालिका बैठक बसेको थियो । सो बैठकमा वडाध्यक्ष कार्की अनुपस्थित रहेका थिए । पछि नगरपालिकाले प्रेस विज्ञप्ति जारी गरी आफ्नो धारणा सार्वजनिक गरेको थियो ।
विज्ञप्तीबाजीको सिलसिला यतिमै रोकिएन वडा अध्यक्ष कार्कीको पार्टी राप्रपा र माओवादी केन्द्रले संयुक्त विज्ञप्ती निकाल्दै उपप्रमुख संग्रौलाले सामाजिक संजालमा जथाभावी लेख्ने गरेको, अशिष्ट र अमर्यादित भाषा प्रयोग गर्ने गरेको र तथ्यहिन आरोप लगाउँदै आएको आरोप लगाए । उनीहरुले संग्रौला माथी कारवाहीको माग समेत गरे ।
हिजो शुक्रबार त नगरपालिकामा वडाध्यक्ष कार्की पक्षधरले नारा जुलुस नै लगाए, झण्डै झडपकै स्थिती सृजना भयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी , नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रमुख संग्रौलालाई कार्वाहीको मागसहित नगरपालिका कार्यालयअगाडि नाराजुलुस गरेका हुन् । बाक्लो संख्यामा रहेका प्रहरीले उनीहरुलाई नगरपालिका गेटभित्र प्रवेश गर्न दिएन । भित्र प्रवेश गर्न नपाएपछि गेट बाहिर उनीहरुले नाराजुलुस र कोणसभा गरे ।
यसरी बिर्तामोडका जनप्रतिनिधीहरुको फेसबुके विवादले राजनितिक रूप लिएपछी नगरबासी भने दिक्क भएका छन। । आफ्नो पदिय मर्यादा र जिम्मेवारीको ख्यालै नगरी जिम्मेवार व्यक्तिहरुनै सामाजिक संजाल हुदै नगरपालिका भित्रै एक अर्को विरुद्ध पौठेजारी खेल्न खोज्नु कतिको जायज हो ? विवादको समाधान छलफलको माध्यमबाट खाजौँ, जगहँसाई नगरौँ ।
सबैको जय होस् ।







