नेकपा एमाले कोशी प्रदेशको विज्ञान तथा प्रविधि विभागले झापाको बिर्तामोडमा प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी आयोजना गर्ने भएको छ ।
आगामी जेठ १ गतेदेखि ३ गतेसम्म विज्ञान प्रदर्शनी हुने विभागका प्रमुख गणेश पोखरेलले जानकारी दिए ।
नेकपा एमाले कोशीको विज्ञान तथा प्रविधि विभागको आयोजनामा बिर्तामोडको देवी माविको प्राङ्गणमा आयोजना गरिने विज्ञान प्रदर्शनीमा १ लाख विद्यार्थी सहभागी हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
प्रदर्शनीमा एसईईदेखि कक्षा-१२ सम्मका विद्यार्थीले सहभागिता रहने जनाइएको छ । कोशीको प्रत्येक जिल्लाबाट १० वटा र आयोजक जिल्ला झापाबाट थप १० गरी १५० वटा विद्यालय प्रदर्शनीमा सहभागी हुनेछन् । विज्ञान प्रदर्शनीमा पाँच सय विद्यार्थीले प्रतिस्पर्धात्मक सहभागिता जनाउने आयोजकले जनाएको छ ।
विज्ञान शिक्षक समाजसँगको समन्वयमा हुन लागेको प्रदर्शनीमा प्रथम हुने विद्यार्थीले चार लाख रुपैयाँ, दोस्रोले तीन लाख, तेस्रोले दुई लाख र चौथोले एक लाख रुपैयाँ नगद पुरस्कार पाउने छन् भने अन्य २५ वटा विद्यालयलाई सान्त्वना पुरस्कार २५ हजारका दरले प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिएको थियो ।







