शिक्षक-कर्मचारी मैत्री शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल गरी काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका शिक्षक र सरकारका प्रतिनिधिहरुबीच लगातार संवाद भइरहेको छ ।
शिक्षा मन्त्रालयका उच्च तहका कर्मचारी र शिक्षक महासंघका प्रतिनिधिबीच बिहीबारदेखि सुरु संवाद शनिबार साँझसम्म पनि जारी थियो । आइतबार पनि दुबै पक्षबीच संवाद हुने बताइएको छ ।
शिक्षक महासंघकी सहअध्यक्ष नानुमाया पराजुली संवाद सकारात्मक भएको बताउँछिन् । उनका अनुसार शिक्षकका मागबारे शिक्षा मन्त्रालयका अधिकारीहरुले मन्त्रिपरिषदबाट गर्न सक्ने निर्णयबारे ब्रिफिङ गर्दै आइतबार अर्थ मन्त्रालयसँग बसेर छलफल गर्ने र पुन: शिक्षक महासंघसँग छलफल गर्ने बताएका थिए ।
संसदको विशेष अधिवेशन, बर्खे अधिवेशन छिटो बोलाएर वा अध्यादेशबाट ऐन जारी गर्न शिक्षक महासंघले भनिरहेको छ ।
यसैबीच आन्दोलनरत शिक्षकहरूको आज पनि प्रदर्शन जारी राखेका छन् । देशभरका शिक्षकहरुले २० चैतदेखि काठमाडौँमा भेला आएर आन्दोलन गरिरहेका छन् ।







