निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याब्सन जिल्ला कार्य समिति झापाले आगामी तीन वर्षे कार्ययोजना सार्वजनिक गरेको छ ।
प्याब्सन झापाले आज कार्यालयमा पत्रकार सम्मेलन मार्फत आगामी तीन वर्षभित्र गरिने १७ बुँदे विविध कार्यक्रम सार्वजनिक गरेको हो ।
प्याब्सन झापाका अध्यक्ष छत्रबहादुर कार्कीले सार्वजनिक गरेका १७ बुँदे कार्ययोजनामा विपन्न विद्यार्थीलाई अभिभावकत्व प्रदान गर्नेदेखि तहगत शिक्षक एवम् प्रधानाध्यापकलाई तालिम, शिक्षक कर्मचारीको पेशागत हकहित, आईसीटीमा आधारित शिक्षण पद्दति, विद्यालय साझेदार कार्यक्रम झापाका स्थानीय तहसंग सहकार्य, विद्यालय मूल्याङ्कन एवम् अनुगमन, सुविधा सम्पन्न भवन लगायत छन् ।
कार्यक्रममा प्याब्सन झापाको गत पुस २७ र २८ गते सम्पन्न १४ औं जिल्ला अधिवेशनबाट छत्रबहादुर कार्कीको अध्यक्षतामा ४९ सदस्यीय जिल्ला कार्यसमिति, पाँच सदस्यीय सल्लाहकार समिति, वरिष्ठ उपाध्यक्ष हरिकृष्ण पाठकको संयोजकत्वमा परीक्षा उपसमिति र सचिव लक्ष्मीप्रसाद उप्रेतीको संयोजकत्वमा सूचना तथा सञ्चार उपसमिति गठन गरिएको छ ।
अध्यक्ष कार्कीले विपद् प्रभावित विद्यालयमा राहत उद्दार तथा पुन: स्थापनाको कार्यका लागि समेत विद्यालय र समुदायलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
विद्यार्थीलाई शिक्षण सिकाई क्रियाकलापका अतिरिक्त खेलकुद्, सांस्कृतिक कार्यक्रम, चित्रकला, वक्तृत्वकला, विज्ञान प्रदर्शनी लगायतका सहभागी गराई विद्यार्थीको चौतर्फी बिकासमा सहयोग पु¥याउने जनाएको छ ।
कार्यक्रममा प्याब्सन झापाका सहसचिव जीवन शिवाकोटी, सहकोषाध्यक्ष नारायण सुवेदी, सदस्य तथा सूचना तथा सञ्चार उपसमितिका सदस्यहरू देवेन्द्र हुमागाई, सुमन शर्मा जमरकट्टेललगायतले प्याब्सन झापाको गतिबिधीहरू बारे जानकारी गराएका थिए ।
वरिष्ठ उपाध्यक्ष हरिकृष्ण पाठकले स्वागतसहित प्याब्सन झापाको वार्षिक कार्यक्रम बारे जानकारी गराएको कार्यक्रमको सञ्चालन सचिव लक्ष्मीप्रसाद उप्रेतीले गरेका थिए ।
सोही अवसरमा उपाध्यक्षमा इश्वरा श्रेष्ठसहित १० जना सदस्यलाई मनोनयन गरेको थियो ।
मनोनित हुने सदस्यहरुमा डिल्लीप्रसाद चापागाई, नितेश खरेल, डम्वर खड्का, रमेश प्रसाद बराराल, खगेन्द्र सुवेदी, विष्णु सापकोटा, जीवन थापा मगर, श्याम नारायण राजवंशी, रेवत प्रधान र उदय प्रकाश राईलाई मनोनित गरेको छ । उनीहरुलाई प्याब्सन झापाको कार्यालयमा आयोजित कार्यक्रमकाबीच सपथ गराइएको हो ।







