शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका शिक्षक-कर्मचारीले बुधबार हात उठाएर सरकारको सांकेतिक विरोध गरेका छन् ।
बानेश्वर-बबरमहल सडकखण्डमा भेला भएका शिक्षक-कर्मचारीले एकै पटक हात उठाएर प्रदर्शन गरेका हुन् । उनीहरुले छिटो शिक्षा ऐन जारी गर्न र वार्ताको वातावरण बनाउन हात उठाएर दबाब दिएका हुन् ।
आन्दोलनका कारण काठमाडौँको सवारी आवागमन अस्तव्यस्त बनेको छ । आन्दोलनरत शिक्षकहरूले माइतीघरदेखि बानेश्वरसम्मको पूरै सडकमा प्रदर्शन गरेपछि तीनकुने-माइतीघर सडक बन्द गरिएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीले शिक्षकले पूरै सडक ढाकेर प्रदर्शन गर्दा यातायात व्यवस्थापनमा समस्या आएको बताए ।
सुरक्षाका लागि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक-कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघको नेतृत्वमा देशभरका शिक्षकहरु आन्दोलनमा छन् ।
यसैक्रममा उनीहरुले चैत २० गतेदेखि काठमाडौँमा प्रदर्शन गर्दै आएका छन् । उनीहरुले यसलाई शिक्षा ऐन जारी गराउने सवालमा ‘अन्तिम र निर्णायक आन्दोलन’ भनेका छन् ।







