घरेलु हिंसा, बलात्कार लगायतमा उत्पीडन र शोषणको चपेटामा नपरुन र कानुनका कुराहरु पनि जानुन भन्ने उद्देश्यले मेचीनगर नगरपालिकाले विद्यार्थीहरुलाई कानुनी परामर्श दिएको छ ।
११५ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा नगरपालिकाको महिला तथा बालबालिका शाखाले आयोजना गरेको कानुनी सचेतना कार्यक्रममा मेचीनगरका सामुदायिक र संस्थागत विद्यालयका कक्षा ११ का छात्रहरुलाई कानुनी सचेतना कार्यक्रम दिएको हो ।
सामाजिक विकास समिति संयोजक ह्दय राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा अधिवक्ता लक्ष्मी खनालले प्रशिक्षण दिएकी हुन् ।
उनले घरेलु हिंसा, यौन हिंसा, बलात्कार लगायतका महिलामाथि हुने अनेकन घटनाहरुमा सचेत रहन, उत्पीडन र शोसनमा परेका र त्यस्ता घटनाहरुबाट जोगिन, न्याय दिलाउन, संविधान, कानुन, ऐन, कार्यविधि लगायतका विषयमा विद्यार्थीहरुलाई कानुनी सचेतना दिएकी थिइन् ।
मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेती, नगर शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी, वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती लगायतले आ-आफना धारणा राखेको कार्यक्रमको सहजीकरण महिला विकास अधिकृत जयन्ती खरेलले गरेकी थिइन् ।







