झापाको अर्जुनधारा-८ स्थित शनिश्चरे माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना भएको छ ।
हाल अमेरिकामा रहेका स्थानीय एवम् पूर्व विद्यार्थी राजेन्द्र र अम्बिका पौडेलद्वारा आमाबुबा लोकनाथ र हेमकला पौडेलको सम्मानमा अक्षयकोष स्थापना गरिएको हो । गत फागुन २ गते सम्पन्न भएको विद्यालयको ७७ औं वार्षिकोत्सवको अवसरमा अक्षयकोष स्थापना भएको घोषणा गरिएको थियो ।
राजेन्द्र-अम्बिका वृत्तिविकास अक्षयकोष नामकरण गरिएको अक्षयकोषको रकम दुई लाख ५१ हजार रुपैयाँ रहेको शिक्षक कपिलदेव तिम्सिनाले जानकारी दिए ।
आगामी शैक्षिक वर्षबाट वितरण सुरु गर्ने अक्षयकोष विद्यालयमा अध्ययनशील रहेका उत्कृष्ट प्रतिभाको प्रदर्शन गर्ने छात्रछात्राहरुलाई उत्प्रेरणा प्रदान गर्न एवम् अनाथ, असहाय र अति विपन्न विद्यार्थीहरुलाई पोशाक प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको शिक्षक रुद्र खतिवडाले जानकारी दिए ।







