शिक्षा शिकोप निकेतन स्कुलले चौथो वार्षिकोत्सव मनाएको छ ।
झापाको बिर्तामोड-२ मा रहेको विद्यालयले आइतबार विविध कार्यक्रमकाबीच वार्षिक उत्सव मनाएको हो ।
बिर्तामोड नगरपालिका-२ का वडाध्यक्ष किशोर पौडेलको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिजा राईको अध्यक्षतामा उद्घाटन समारोह सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पौडेलले शिक्षा शिकोप अभिभावक र विद्यार्थीको रोजाइमा पर्दै गएको र बालमैत्री बनाउन आग्रह गरेका थिए ।
स्कुलले वार्षिक उत्सवमा उत्कृष्ट नतिजा ल्याउने विभिन्न प्रतियोगितामा विजयी हासिल गर्ने विद्यार्थीलाई सम्मान समेत गरेको थियो । विद्यार्थीहरूले नृत्य, गायन, स्पिच लगायतका आफ्ना प्रतिभाहरू प्रस्तुत गरेका थिए ।
उक्त अवसरमा केशर खवास, बिर्तामोड कार्यपालिका सदस्य तिला गौतम, अभिभावक संजिव चापागाईं लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
प्रिन्सिपल रेश्मा घिमिरेले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक बिनु लिम्बु र तारा गौतमले संयुक्तरुपमा गरेका थिए ।
शिक्षा शिकोप निकेतन नयाँ बाल मैत्री र सामुदायिक तहमा सहकारी विधि र प्रक्रियामार्फत खोलिएको बिर्तामोडकै पहिलो मण्टेश्वरी स्कूल भएको शिक्षा बहुउद्देश्यीय सहकारीका अध्यक्ष सुब्रत न्यौपानेले बताए । उनले आगामी शैक्षिक सत्रदेखि आधारभूत तहका कक्षा सञ्चालन गर्ने योजना समेत जानकारी गराएका थिए ।







