मेचीनगर नगरपालिकाले स्थानीय नगर शिक्षा समितिलाई पूर्णता दिएको छ । नगर कार्यपालिकाको शनिबार बसेको बैठकले ११ सदस्यीय शिक्षा समिति चयन गरेको हो ।
शिक्षा ऐन २०२८ को दफा ११ ट मा स्थानीय तह क्षेत्रभित्र सञ्चालन हुने विद्यालयको रेखदेख, व्यवस्थापन र समन्वय गर्ने प्रयजोनार्थ गाउँ वा नगर शिक्षा समिति गठन गर्नुपर्ने प्रावधान छ ।
नगर प्रमुख अध्यक्ष रहने समितिको सदस्य सचिवमा विद्यालय निरीक्षक र अन्य सदस्य रहने ऐनमा व्यवस्था छ । मेचीनगरमा गठित शिक्षा समितिमा भने उप प्रमुख उपाध्यक्षसहितको स्थानीय नगर शिक्षा समिति चयन गरिएको छ ।
नगर प्रमुख गोपालचन्द्र बुढाथोकी अध्यक्ष एवम् उपप्रमुख मिना पोख्रेल उप्रेती उपाध्यक्ष रहेको समिति सदस्यहरुमा नगरका प्रमुझ प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, सामाजिक विकास समिति संयोजक हृदयसिंह राजवंशी, कार्यपालिका सदस्य ललितबहादुर तामाङ, दलित महिला सदस्य कबिता खनाल चयन भएको नगरका नवनियुक्त प्रवक्ता दिपक बरालले जानकारी दिए ।
त्यस्तै सामुदायिक विद्यालयका प्रअबाट शुक्रराज घिमिरे, संस्थागत विद्यालयको प्रअबाट केशवराज तिम्सिना, विद्यालय व्यवस्थापन समिति अध्यक्षमध्येबाट गणेश विक्रम नेम्बाङ चयन भएका छन् ।
त्यस्तै नेपाल शिक्षक महासंघ मेचीनगर अध्यक्ष होमराज ढकाल सदस्य चयन भएका छन् भने समितिको सदस्य सचिवमा शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी चयन भएको प्रवक्ता बरालले बताए ।







