डिजिटल शिक्षाको प्रवर्द्धन गर्दै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको पहलमा झापा क्षेत्र नम्बर २ का कक्षा १० का विद्यार्थीलाई लक्षित गरी नि:शुल्क अनलाइन कक्षा सञ्चालन गरिएको छ ।
Ambition Guru को सहकार्यमा अघि बढाइएको यस कार्यक्रममार्फत करिब १ हजार २६५ जना विद्यार्थी लाभान्वित भएका छन् ।
कार्यक्रमको उद्देश्य विद्यार्थीलाई अनलाइन अध्ययनमा सहजता दिनु हो । यसका लागि आवश्यक इन्टरनेट डेटा समेत उपलब्ध गराइएको छ । Ambition Guru का पोषण कार्कीका अनुसार ११ जना प्रशिक्षित टिमले विद्यार्थीहरूसँग निरन्तर फोन सम्पर्क गरी कक्षामा सहभागी गराउने कार्य गरिरहेका छन् ।
सभामुख घिमिरेले यस पहललाई गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्ने कदमका रूपमा हेरिरहेका छन् । यस कार्यक्रमले आर्थिक अभावका कारण गुणवत्तापूर्ण शिक्षाबाट बञ्चित हुनुपर्ने अवस्थालाई हटाउने विश्वास गरिएको छ ।
नगरपालिकासँग समन्वय गरी विद्यार्थीहरूको डेटा नगरपालिका स्वयंले उपलब्ध गराएको थियो । नगरपालिका शिक्षा शाखाबाट प्राप्त डेटा अनुसार कार्यक्रम सञ्चालन भइरहेको छ, र यदि कोही विद्यार्थी छुटेका छन् भने उनीहरूलाई पनि समेट्ने प्रयास भइरहेको छ ।
सभामुख घिमिरेका अनुसार शिक्षा केवल किताबी ज्ञानमा सीमित नभई व्यक्तित्व विकास, जीवनदृष्टिकोण विस्तार, तथा समृद्ध समाज निर्माणको आधार हो । अनलाइन कक्षाले विद्यार्थीलाई आधुनिक प्रविधिमा अभ्यस्त गराउनुका साथै प्रतिस्पर्धात्मक युगका लागि तयार पार्ने अपेक्षा गरिएको छ ।
स्थानीय विद्यार्थी र अभिभावकहरूले यो पहलप्रति खुशी व्यक्त गर्दै प्रविधिमैत्री शिक्षालाई निरन्तरता दिनुपर्ने माग गरेका छन् । गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्ने यो पहल झापा क्षेत्र नम्बर २ का विद्यार्थीहरूको शैक्षिक भविष्य उज्ज्वल बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।







