झापाको कचनकवल-७ सिधागुरीमा अवस्थित गगन आधारभूत विद्यालयका शिक्षकहरुले तलव पाएका छैनन् ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष कनकप्रसाद राजवंशी र प्रधानाध्यापक देवनारायण राजवंशी बीचको विवादका कारण माघको दोस्रो साता अन्त्य हुँदासम्म शिक्षकहरुले तलव नपाएका हुन् । हरहिसाब नमिलेको भन्दै कचनकवल गाउँपालिकाले तलब रोक्का गरेको प्रधानाध्यापक राजवंशीले बताए ।
गत वर्ष मात्र सोही विद्यालयका पूर्व प्रधानाध्यापक लिलाबल्लभ भट्टराईसँग व्यवस्थापन समिति अध्यक्ष राजवंशीको विवाद हुँदा लामो समय पठनपाठनमा अवरोध भएको थियो । भट्टराईले पढाउने वातावरण नभएको भन्दै सो विद्यालयवाट सरुवा लिएर लक्ष्मी मावि गएका थिए । पूर्व प्रधानाध्यापकको राजीनामा आएपछि नयाँ प्रधानाध्यापक राजवंशीसँग पनि उस्तै प्रकृतिको विवाद चर्किदै गई लामो समयसम्म विवाद यथावत रहेको बताइएको छ ।
यसबाट विद्यार्थीहरुको पठनपाठनमा असर पर्नुका साथै शिक्षक कर्मचारीहरुले हालसम्म तलब समेत नपाएका हुन् । गाउँपालिकामा समेत महिनौ छलफल हुँदासमेत समस्या समाधान नभई विद्यालयको पढाई एवं दैनिकीमा गम्भीर असर देखिएको छ ।







