झापाली उद्योगीहरुको छाता संस्था झापा उद्योग संघले कचनकवल गाउँपालिकाको एक सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई जाडोमा लगाउन न्यानो कपडा स्वेटर वितरण गरेको छ ।
संघले सोमबार कचनकवल-४ स्थित शारदा प्राथमिक विद्यालयमा अध्ययनरत १८० विद्यार्थीलाई स्वेटर वितरण गरेको हो ।
विद्यालय परिसरमा संघका अध्यक्ष यमबहादुर श्रेष्ठको अध्यक्षतामा आयोजित संक्षिप्त समारोहका बीच प्रमुख अतिथि कोशी प्रदेश सरकारका पूर्व भूमि व्यवस्था तथा सहकारी मन्त्री ओमप्रकाश सरावगी, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका निवर्तमान अध्यक्ष एवम् झापा उद्योग संघका पूर्व अध्यक्ष टिकाराज ढकाल, संघका सचिव प्रदीपमणि रेग्मी, कचनकवल गाउँपालिका वडा नं.४ का वडा सदस्य सन्तोष गणेशलगायतले विद्यार्थीलाई स्वेटर वितरण गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक रामप्रसाद गणेशले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक हेमकुमार गणेशले गरेका थिए ।







