झापा । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिका प्रदेश नम्बर १ को पहिलो बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषीत भएको छ ।
“संस्कृति र सभ्यताको आधार, सुखी बालबालिका समृद्ध भद्रपुर नगर” भन्ने उद्देश्यका साथ प्रदेश नम्बर १ का सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर विश्वकर्माले भद्रपुर नगरपालिकालाई प्रदेश एकको पहिलो र देशकै पाँचौँ बालमैत्री नगर घोषित गर्नुभएको हो।
साथै राज्यमन्त्री गजमेर र जिल्ला समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलले नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठ र उपमेयर चन्द्रामाया श्रेष्ठलाई बालमैत्री घोषणा भएको कदरपत्र प्रदान गर्नुभएको थियो ।
२०७४ साल मङ्सिर ३ र ४ गतेबाट नगरपालिकाले बालमैत्री अवधारणा अवलम्बन गरी रणनीतिक कार्य योजनाका साथ घोषणा उन्मुख अभियान सञ्चालन गरेको नगरपालिकाका मेयर श्रेष्ठले जानकारी दिनुभयो । बालमैत्री नगर घोषणाका लागि बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति बमोजिम सरकारले निर्धारण गरेको ३९ सूचकहरू पूरा गरी अभियान सफल बनाइएको उहाँको भनाई छ ।
भद्रपुर ६ स्थित सिटी गार्डेन होटेलमा मङ्गलवार आयोजित घोषणा समारोहमा बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका बनाउन सहयोग पुर्याउने जनप्रतिनिधि, कर्मचारी, विभिन्न क्षेत्रका व्यक्ति तथा बालबालिकाहरूलाई सम्मान गरिएको थियो ।
सम्मानसँगै पुरस्कृत हुनेमा बालमैत्री अभियन्ता बिर्तामोडका सुमन ढकाललाई नगर ५१ हजारसहित सम्मान गरिएको थियो । त्यस्तै बालबालिकाको क्षेत्रमा कलम चलाउने पत्रकार तथा नौलो आवाज साप्ताहिकका सम्पादक दीपक अधिकारीलाई नगद १० हजारसहित सम्मान गरिएको थियो ।
भद्रपुरका युवा वैज्ञानिक अनिल प्रधान र भद्रपुरका कृष्ण अनमोललाई नगद ५ ५ हजारसहित सम्मान गरिएको थियो । साथै सोही अवसरमा भर्खरै मेची–महाकाली साइकल यात्रा पुरा गरेकी भद्रपुरकी श्वेता श्रेष्ठ र भद्रपुर ७ नम्बर वडा अध्यक्ष विनोद पोखरेललाई सम्मान पत्रले सम्मान गर्नुभएको थियो।
नगरपालिकाका मेयर श्रेष्ठको अध्यक्षता तथा राज्यमन्त्री गजमेरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत होमनाथ भट्टराईले बालमैत्री घोषणाको बारेमा जानकारी गराउनुभएको थियो ।







