त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागले पत्रकारितामा मोतीराम भट्टको योगदानको बारेमा चर्चा गरेको छ ।
विभागले १५९ औँ मोती जयन्ती अवसरमा नेपाली प्रथम पत्रकार मोतीराम भट्टको योगदान विषयमा सोमबार गोष्ठी आयोजना गरेको हो ।
पत्रकारिता तथा आमसञ्चार विभागका विभागीय प्रमुख कुन्दनराज अर्यालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति केके कर्माचार्य रहेका थिए ।
भारतको बनारसमा बसेर ‘गोरखा भारत जीवन’ नेपाली भाषाको साहित्यिक पत्रिका प्रकाशन गरी उनले पहिलो पटक नेपालीभाषी पत्रिका प्रकाशन गरेको विज्ञहरूको भनाइ छ । सोहीअनुसार भट्टलाई प्रथम नेपालीभाषी पत्रकार भन्नुपर्ने बुझाइ विज्ञहरूको छ ।
भट्टले वि.सं १९३८ मा उनले ‘गोरखा भारत जीवन’ पत्रिका प्रकाशन गरेका थिए । उनले प्रकाशन गरेको त्यही पत्रिका नेपाली भाषाको पहिलो पत्रिकाको रूपमा चित्रण गरिन्छ । भट्टको वि.सं.१९२३ भदौ २५ गते कुसेऔंसीका दिन जन्म भएको थियो ।
उक्त अन्तरक्रियामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि केके कर्माचार्यले पत्रकारितामा चित्रकला र सौन्दर्यीकरणको पनि आवश्यकता रहेको भन्दै पत्रिकालाई आकर्षक बनाउन चित्रकलाको महत्त्व रहेको बताए ।
कर्माचार्यले मोतीराम भट्ट बहुआयामिक व्यक्तित्व रहेको र उनको योगदानको जति चर्चा गरे पनि कम हुने बताएका छन् ।
मानविकी तथा सामाजिक शास्त्र सङ्काय डिनको कार्यालयका सहायक डिन प्रा.डा.गोविन्द सुकुम शर्माले मोतीरामले अनुसन्धानको क्षेत्रमा पनि अतुलनीय योगदान दिएको उल्लेख गरेका थिए ।
त्यस्तै वरिष्ठ साहित्यकार तथा पत्रकार विजय चालिसेले भानुभक्तको जीवनी लेखेर उनलाई चिनाउने काम मोतीराम भट्टले गरेकाले उनको स्थान भानुभक्तभन्दा माथि रहेको चर्चा गरेका थिए ।
त्रिभुवन विश्वविद्यालय नेपाली विभागका प्रमुख प्रा.डा.कृष्णप्रसाद न्यौपानेले मोतीराम भट्टले नेपाली साहित्यिक वाङमय क्षेत्रको श्रीवृद्धिमा अतुलनीय योगदान दिएको चर्चा गरेका थिए ।
त्यसैगरी रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसका नेपाली भाषा प्रमुख डा.विदुला घिमिरेले मोतीरामले उर्दू र फारसी भाषाबाट नेपालीमा उल्था गरी नेपालमा गजल विधा भित्र्याएको बताएकी थिइन् ।
त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख डा.कुन्दन अर्यालले पत्रकारिता प्रवर्धनका लागि खुला समाजको खाँचो रहेको चर्चा गर्दै जुनसुकै विधाबाट पनि सञ्चारको काम हुने गरेको बताए ।
भट्टको साहित्यिक योगदानको चर्चा धेरै भए पनि पत्रकारितामा दिएको योगदान ओझेलमा परेको भन्दै डा.अर्यालले यसलाई उजागर गर्न विभागले पहिलो पटक कार्यक्रम आयोजना गरेको जानकारी गराएका थिए ।
उप-प्राध्यापक डा.देवराज अर्यालले कार्यक्रमको औचित्य माथि प्रकाशसहित मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन उप-प्राध्यापक डा.घमराज लुइँटेलले गरेका थिए ।







