उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) झापाले कक्षा ११ को परीक्षामा उत्कृष्ट जिपिए प्राप्त गर्ने विभिन्न संकायका विद्यार्थीलाई पुरस्कृत गरेको छ ।
बिर्तामोडमा शनिबार एक कार्यक्रमको आयोजना गरी हिसानले उत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थीलाई मेडल, प्रमाणपत्र र नगदसहित पुरस्कृत गरेको हो ।
उक्त कार्यक्रममा विज्ञान, मानविकी, कानून, शिक्षा र व्यवस्थापन संकायका उत्कृष्ट विद्यार्थी प्रतिभा पुरस्कृत भएका छन् । कक्षा ११ को विज्ञान संकायको परीक्षामा ग्लोबल एकेडेमी दमकका रुपेश नेपाल जिल्ला प्रथम भएका छन् भने निदि सेकेन्डरी स्कुलका विजय पाण्डेले दोस्रो स्थान हासिल गरेका छन् ।
त्यसैगरी बिजनेस स्टडीतर्फ एकता एकेडेमी दमकका मेलिसा भट्टराई प्रथम, न्युटन्स एजुकेसन एकाडेमीकी सावित्रा न्यौपाने दोस्रो र बिर्ता मोडलकी निर्जला राई तेस्रो भएका छन् ।
त्यस्तै तेस्रो भएका अरु तीनजना विद्यार्थीलाई पनि पुरस्कृत गरिएको छ । निदि स्कुलका अमित कट्टेल, ग्लोबलकी निर्जला निरौला र एमिटीका जेनिस भण्डारी तृतीय भएका हुन् ।
जिल्ला प्रथम हुने विद्यार्थीलाई ५ हजार, दोस्रो हुनेलाई ४ हजार र तेस्रो हुनेलाई २ हजारका दरले पुरस्कृत गरिएको छ ।
हिसान झापाका अध्यक्ष टेकनाथ भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्ड प्रदेश व्यवस्थापन कार्यालय विराटनगरका प्रमुख जीवन गड्तौला रहेका थिए ।
कार्यक्रममा बोल्दै प्रादेशिक प्रमुख गडतौलाले विश्वसनीय र वैधता हुने गरी विद्यालय तहमा मार्किङ स्किम बनाएर उत्तरपुस्तिका परीक्षण गर्नुपर्ने बताए । उनले विद्यार्थीको रुचि, योग्यता, क्षमता पहिचान गर्न सके मात्रै दक्ष जनशक्ति उत्पादन हुनेमा जोड दिएका थिए ।
उक्त अवसरमा बोल्दै हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेलले अहिलेका विद्यार्थीलाई ज्ञान दिएर मात्रै नपुग्ने बताए ।
उपाध्यक्ष पोखरेलले भने, ‘ज्ञानले मात्रै हुँदैन सीप पनि चाहिन्छ । अब विश्व बजारको मागअनुसार विद्यार्थीलाई ज्ञानसँगै सीप पनि सिकाउनुपर्छ ।’
हिसान झापाका सचिव देवेन्द्र हुमागाईंका अनुसार उत्कृष्ट जिपिए प्राप्त गर्ने विद्यार्थीलाई हिसानले निरन्तर प्रेरित र प्रोत्साहित गर्दै आइरहेको छ । उत्कृष्ट भएका विद्यार्थीले मासिक शुल्कमा समेत छात्रवृत्ति पाउने व्यवस्था रहेको सचिव हुमागाईंले जानकारी दिए ।
बिर्तामोड नगरपालिका वडा नं.४ का वडाध्यक्ष राहुल शर्माले विद्यार्थीलाई भविष्यका कर्णधार भनेर मात्र नपुग्ने बताउँदै उनीहरूलाई वर्तमानका साझेदारका रुपमा बुझ्नुपर्ने बताए ।
हिसानले प्रत्येक वर्ष परीक्षामा उत्कृष्ट जिपिए प्राप्त गर्ने विद्यार्थीहरुलाई सम्मान गर्दै आएको छ । हिसानले कुनै पनि विद्यार्थीहरु पढाइबाट बञ्चित नहुन् भनेर कमजोर आर्थिक अवस्था भएका विद्यार्थीहरुलाई छात्रवृत्ति समेत उपलब्ध गराउँदै आएको छ ।







