झापा । झापाका महिला संचारकर्मीहरुको छाता संगठन नारी सञ्चार गृहले बहुउद्देश्यीय लक्ष्य राखेर स्थापना गरेको अक्षयकोषमा दुई पत्रकारले सहयोग रकम प्रदान गर्नुभएको छ।
नारी सञ्चार गृहले बहुउद्देश्यीय लक्ष्य राखेर स्थापना गरेको अक्षयकोषमा साझा मञ्च अनलाईनका सम्पादक गोपाल काफ्ले र आयोमेली डटकमका झापा प्रतिनिधि राजेन्द्र गौतमले सहयोग रकम प्रदान गर्नुभएको हो ।
पत्रकार काफ्लेले पाँचहजार एकसय रुपैयाँ बराबरको चेक र गौतमले नगद पाँचहजार पाँच रुपैयाँ संचार गृहका अध्यक्ष भिमा शिवाकोटी, अक्षयकोष बृद्धि तथा संकलन संयोजक रेजिना गौतम, संस्थापक अध्यक्ष सावित्रा दाहाल, निर्वमान अध्यक्ष अम्बिका भण्डारी सहितको टोलीलाई उक्त रकम हस्तान्तरण गरेको सचिव भूमिका सुब्बाले जानकारी दिनुभयो ।
सहयोग रकम हस्तान्तरण गर्दै पत्रकार राजेन्द्र गौतमले देशभरमै झापाका महिला संचारकर्मीहरु संगठित भएर दीर्घकालीन सोच राख्दै स्थापना गरेको अक्षयकोषका लागि सानै भएपनि सहयोग गर्न पाएको खुशी लागेको बताउनु भयो । विगत केही वर्षअघिदेखि आफ्नो जन्मदिनमा सामाजिक क्षेत्रमा सहयोग गर्दै आएका गौतमले यो वर्ष कोरोना संक्रमण लगायत विविध कारणले थाँती रहेको नारी संचार प्रोत्साहन अक्षयकोषलाई सहयोग गरेको जानकारी दिनुभयो ।

रकम ग्रहण गर्दै संस्थाकी अध्यक्ष भीमा शिवाकोटीले दाताहरुलाई धन्यवाद ज्ञापन गर्दै लगभग दुईवर्ष अघिदेखि शुरु गरेको अक्षयकोषमा हालसम्म १३ लाख बढी रकम संकलन भइसकेको जानकारी दिनुभयो । झापाका महिला सञ्चारकर्मी संवद्ध नारी संचार गृहले २५ लाखको अक्षयकोष स्थापना गर्ने लक्ष्य राखेर रकम संकलन गर्दै आएको छ ।







