आजदेखि छठपर्व सुरु भएको छ । भगवान सूर्यको पूजा आराधना गर्ने यो पर्व विधिवत् रुपमा कात्तिक शुक्ल चतुर्थी तिथि अर्थात् आजदेखि सुरु हुने भएको हो ।
अत्यन्त निष्ठा एवं पवित्रताका साथ यो पर्व मनाउनुपर्ने भएकाले भगवान सूर्यको पूजा गर्ने व्रतालुले आज शरीरलाई पवित्र बनाउने उद्देश्यले विधिवत् रुपमा स्नान गरी अरुवा अरुवाइन खाने गर्छन् ।
पञ्चमी तिथिमा भोलि दिनभर उपवासमा बसेर साँझको समयमा नयाँ माटोको चुल्होमा खीर पकाउँछन् ।
त्यसपछि घरको देवीदेउताको पूजामा चढाइएको खीर प्रसादको रुपमा व्रतालुले ग्रहण गरी परिवारका अन्य सदस्यलाई वितरण गर्ने गरिन्छ । यस विधिलाई खरना भनिन्छ ।
भगवान सूर्यलाई अर्घ अर्पण गर्ने व्रतालुले पञ्चमी तिथिभर उपवासमा बसेर साँझमात्र प्रसाद ग्रहण गरेर पुनः उपवासको निरन्तरता दिन्छन् ।
त्यसपछि, सप्तमी तिथिको बिहानसम्म अर्थात कम्तीमा ५० घण्टासम्म उपवासमा बस्नुपर्ने हुन्छ ।
त्यसपछि, षष्ठी तिथिमा पोखरीको डिल वा नदी किनारमा पूजाका सामग्री राखेर अस्ताउँदै गरेको सूर्यलाई अर्घ अर्पण गरिन्छ । भोलिपल्ट सप्तमी तिथिमा उदाउँदै गरेको सूर्यलाई अर्घ अर्पण गरेपछि विधिवत् रुपमा पर्व सम्पन्न हुन्छ ।







