झापाको बिर्तामोड नगरपालिकाले वि.सं २०८१ साललाई शैक्षिक उपलब्धि वृद्धि वर्षको रुपमा घोषणा गरेपछि गठित विषयगत समितिहरू सक्रिय हुन थालेका छन् । शुक्रबार बिर्तामोडको चारपाने स्थित साङ्गवेद संस्कृति माविमा आयोजित नेपाली भाषा शिक्षणमा भाषिक तथा व्याकरण विधिको प्रयोग सम्बन्धी एक दिने प्रशिक्षण सम्पन्न भएको छ ।
बिर्तामोड नगरपालिकाद्वारा गठित नगरस्तरीय विषयगत समिति समन्वय संजालको आयोजनामा आयोजित नेपाली भाषा विषय समितिको संयोजनमा सञ्चालित उक्त नेपाली भाषा शिक्षणसम्बन्धी गोष्ठीमा पाठ्यक्रम विकास केन्द्रका प्राध्यापक डाक्टर लेखराज निरौलाले नेपाली भाषा शिक्षणमा आएको कमी कमजोरीका कारण नेपाली भाषाको अस्तित्व नै संकटमा परेको बताएका थिए ।
नेपाली विषय शिक्षकहरूको पछिल्लो भाषा शिक्षण सम्बन्धी अपडेट नहुँदा उक्त संकट आएको निरौलाको भनाइ छ । सामान्यतया नेपाली भाषामा शिक्षण गर्नु सहज रहेको मान्यता भए पनि भाषिक सीपको विकास गर्न नेपाली भाषा शिक्षकहरूले अत्यन्तै संवेदनशील र गम्भीर हुनुपर्ने निरौलाले बताए ।
नेपाली विद्यालयहरूमा भाषिक शिक्षणमा गम्भीर समस्या देखिन थालिएको छ । निरौलाले भने शिक्षकहरुले नेपाली भाषालाई सरल भाषाको रुपमा मात्र लिने गरेको तर भाषा शिक्षण सोचेजस्तो सहज भएको छैन ।
बिर्तामोड नगरपालिकाले विषयगत रुपमा भएका कमी कमजोरीहरूलाई सुधार गर्ने उद्देश्यले केही समयअघि विषयगत शिक्षकहरूको नगरस्तरीय भेला गराई समितिहरू समेत गठन गरेको थियो । सोही अनुसार नेपाली भाषा शिक्षकहरूको समूहको सक्रियतामा उक्त नेपाली भाषा शिक्षण सम्बन्धी गोष्ठी सम्पन्न भएको हो ।
शिक्षा युवा तथा खेलकुद शाखा बिर्तामोडका प्रमुख तिलचन भण्डारीले गोष्ठीको उद्घाटन गर्दै नेपाली भाषा शिक्षणमा देखापरेका समस्याहरूलाई विषयगत समिति मार्फत सहजीकरण गर्ने उद्देश्यले गोष्ठीको आयोजना गरिएको बताएका थिए ।
नगरस्तरीय विषयगत समिति समन्वय संजालका सदस्य तथा शिक्षक महासंघ बिर्तामोडका सचिव उमनाथ भण्डारीले गोष्ठी अत्यन्त महत्वपूर्ण र उपयोगी भएको जानकारी दिए ।
बिर्तामोड नगर क्षेत्रका ४२ वटा विद्यालयका नेपाली भाषी शिक्षकहरूको सहभागिता रहेको उक्त गोष्ठी मा सहभागीहरूले गोष्ठी अत्यन्त महत्वपूर्ण तथा सान्दर्भिक रहेको बताउँदै थप यस्ता कार्यक्रमहरू आयोजना गर्नुपर्ने बताएका थिए ।
बिर्तामोड नगरपालिका क्षेत्रमा पहिलोपटक नेपाली भाषा शिक्षण सम्बन्धी गोष्ठी भएको हो । निजी क्षेत्रका विद्यालयहरूमा झन् समस्या बढीरहेको प्राध्यापक निरौलाको ठम्याई छ । संस्थागत विद्यालयहरूमा नेपाली भाषासम्बन्धी कुनै पनि किसिमको तालिम तथा गोष्ठी हुने गरेको छैन त्यस्ता विद्यालयहरूमा नेपाली भाषासम्बन्धी विद्यार्थीहरूमा अत्यन्त कठिनाइ भइरहेको तथ्य बाहिर आएको छ ।







