सरकारले आगामी १३ देखि २६ जेठसम्म पोलियो रोगविरुद्धको आईपीभी (इनएक्टिभिटेड पोलियो भ्याक्सिन) खोप अभियान सञ्चालन गर्ने भएको छ ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले आगामी असारभित्र यसअघि छुटेका साढे १४ लाखभन्दा बढी बालबालिकाहरुलाई आईपीभी खोप दिने अभियान सञ्चालन गर्ने भएको हो ।
वि.सं २०७३ बैशाख देखि २०७५ असोज महिनासम्म जन्मिएका १४ लाख ६० हजार ६१२ जना बालबालिकाहरुलाई अभियान सञ्चालन गरी आईपीभी खोप दिने तयारी रहेको महाशाखाले जनाएको छ ।
नेपालले सन् २०१४ बाट सुईबाट दिइने पोलियो विरुद्धको खोप (आईपीभी) सुरू गरे पनि २०१६ देखि २०१८ को मध्यसम्म विश्वव्यापी रुपमा अभाव भएका कारण खोप दिन रोकिएको थियो ।
त्यसबेला विश्वबजारमा यो खोप अभाव भएका कारण ती बालबालिकाहरु आईपीभी खोपबाट पाउनबाट बञ्चित भएका थिए । उक्त खोपबाट बन्चित भएका बालबालिकाहरु पोलियो रोगको जोखिममा हुन सक्ने भन्दै खोप दिन लागिएको हो ।







