झापाको बिर्तामोडस्थित वीर अमरसिंह प्राविधिक माध्यमिक विद्यालयमा एकदिने ऐतिहासिक सामाग्रीहरुको प्रदर्शनी गरिएको छ ।
प्रदर्शनीको उद्धघाटन बिर्तामोड नगरपालिका वडा नं.२ का वडाध्यक्ष किशोरकुमार पौडेलले रिबन काटेर गरेका थिए । 
ऐतिहासिक मिनि म्यूजियम बुद्धशान्तिको आयोजनामा भएको कार्यक्रममा ३०० भन्दा बढी पुराना नेपाली परम्परा झल्कने सामाग्रीहरुको प्रदर्शनी गरिएको विद्यालयका प्रधानाध्यापक यदुनाथ अधिकारीले जानकारी दिए ।
ऐतिहासिक पृष्ठभूमि र पहिचानसहितको परिचय दिनुका साथै विद्यार्थीहरुलाई प्राचिन कला, संस्कृतिको ज्ञान दिएको सामाग्रीहरुको प्रदर्शनीको सहजीकरण चेतन ढुंगेलले गरेका थिए ।
ऐतिहासिक तथा पुरातात्विक विभागमा सूचिकृत भएका नेपालका लोपोन्मुख अति पुराना तथा लोप हुन लागेका स्थानिय कृषि सामाग्री, वाजागाजा, धर्म संस्कृति परम्परा जोगाउन मद्दत गर्ने जातिय, सांस्कृतिक, भौगोलिक इतिहास बोकेका पुराना दस्तावेज तथा नेपाली मौलिक पन झल्काउने गाउँले जिवनको सङ्घर्षका चिनारीहरु देखाइएको थियो ।
त्यसैगरी अहिलेको उछृङ्खल समाजलाई यो अवस्थासम्म ल्याउन नेपालीपन गाउँले जीवन झल्काउने संगितको उत्पति गर्ने स्थानिय स्रोत र साधनबाट गाउँघरमै बनाइएका साङ्गीतिक बस्तुहरु, कृषि गर्ने पुरानो तरिकाका औजार, पुरानो सीप र कौशललाई जिवन्त बनाई राख्न र बालबालिकाहरुलाई परम्परासँग चिनजान गराउनु मुख्य उद्देश्य रहेको कार्यक्रममा जानकारी दिएको थियो ।
ऐतिहासिक वस्तुहरु सङ्कलन, व्यवस्थापन र प्रदर्शन गर्ने उद्देश्यले स्थापना गरिएको लघु सङ्ग्रहालयले विद्यार्थीरुमा प्रत्यक्ष वस्तु अवलोकन गराएर पुरानो कला शैलि संस्कृतिसँग परिचित हुन पाउने भएकाले कला, संस्कृति र परम्परा जोगाई राख्नको लागि सिकाइलाई दिगो र जिवन्त बनाउन प्रत्यक्ष सम्बन्धित वस्तुसँग भेट गराई त्यसको प्रयोग महत्व र अवका पुस्ताहरुमा कला हस्तान्तरण गर्न सहयोग पुऱ्याउने पुर्खाहरुले प्रयोग गरेका तर पछिल्लो पुस्ताहरुले नदेखेका सामानहरु प्रदर्शनी गरिएको जनाइएको छ ।
विद्यार्थीहरुलाई सामाग्रीहरु प्रदर्शनी गरेर ऐतिहासिक महत्त्वको बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सहजकर्ता ढुंगेलले जानकारी थिए ।
यसअघि बुद्धशान्ति गाउँपालिकाभित्र संस्थागत रुपमा ऐतिहासिक सामाग्रीहरुको प्रदर्शन गर्दै आएको भए पनि गाउँपालिकाभित्र बाहिर भने पहिलो पल्ट झापाको बिर्तामोडमा विद्यार्थीलाई ऐतिहासिक सामाग्रीहरु देखाइएको जनाइएको छ ।







