झापा गाउँपालिकाले आफ्नो पालिकाभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ९ का विद्यार्थीहरुलाई साइकल वितरण गरेको छ ।
पालिकाको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रमअन्तर्गत पाँच वटा सामुदायिक विद्यालयको कक्षा ९ मा अध्ययनरत ३४३ विद्यार्थीहरुलाई साइकल वितरण गरिएको हो ।
साइकल पाउने विद्यार्थीहरुमा डिल्लीराज माविका १२५, कुवाडीदेवी माविका २८, महेन्द्र माविका २४, जनता माविका १३१ र जनकल्याण माविका ३५ जना रहेको कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले बताइन् । झापा गाउँपालिकामा सामुदायिकतर्फ मावि पाँच वटा, निमावि पाँच वटा र प्रावि स्तरका ११ वटा गरी कुल २१ विद्यालयहरु रहेका छन् ।
पालिकाले विपन्न परिवारकालाई लक्षित गरी ल्याएको यो कार्यक्रमले विद्यार्थीलाई आवतजावतमा सुविधा पुग्नुका साथै विद्यार्थीको शैक्षिक गुणस्तर अभिवृद्धि हुने, विद्यार्थीको हौसलामा वृद्धि भई विद्यार्थीहरु नियमित विद्यालय आउने कार्यवाहक अध्यक्ष थपलियाले बताइन् । उनले २९ लाख बराबरको रकमबाट विद्यार्थीहरुको लागि साइकल खरिद गरेको जानकारी दिइन् ।







