झापा । मानिसका आ-आफ्ना रुची र क्षमता हुन्छन् । देशमै परिवारसँगै बसेर दुख:सुख गरेर जिन्दगी बिताउने सपना हरेक मानिसको हुने गर्छ । तर स्वदेशमै कमाएको पैसाले परिवार चलाउन कठिन हुने भएका कारण मानिसहरु विदेशीन बाध्य हुने गरेका छन् । कोही यस्ता व्यक्ति पनि हुन्छन् जो आफूले गर्दै आएको पेशालाई छोडेर अन्य पेशामा रमाउने गर्दछन् ।
झापाका यादवचन्द्र खनाल लामो समय शिक्षण पेशामा आबद्ध रहेका थिए । करिब २० वर्ष भन्दा बढी त्रिभवन विश्वविद्यालय अन्तरगत रहेका विभिन्न कलेजहरुमा अध्यापन गराएको अनुभव बटुलिसकेका खनाल विगत आठ वर्षदेखि भने बिर्तामोड नमस्ते तयारी पोशाक उद्योग स्थापना गरेर सञ्चालन गर्दै आएका छन् ।
बिर्तामोड नगरपालिका वडा नं.५ मा बस्दै आएका उनले आफनै घरमा एकल लगानमी व्यवसाय सुरु गरेका हुन् । उनले इलाममा आउटलेट भनेर आफना व्यवसाय विस्तार गरेका छन् । उनले कोशी प्रदेशभरिका विभिन्न ठाउँमा तयारी पोशाक पठाउने गरेको साथै अन्य ठाउँमा अर्डरअनुसार सामाग्रीहरु पठाउने गरेको बताए ।
जागिर खानुभन्दा पनि रोजगारी सृजना गरेर देशमै केही गरौँ भन्ने उद्देश्यले व्यवसाय सुरु गरेको खनाल बताउँछन् । उनका अनुसार अत्याधुनिक मेसिनहरुको प्रयोग गरेर ठूलो संख्यामा कलेज, स्कुल,बैंक ,सहकारी र विभिन्न खेलका पोशाक बनाउने गरेका छन् ।
उनले २५ जनाभन्दा बढीलाई प्रत्यक्ष रुपमा रोजगारी प्रदान गरेका छन् । शिक्षण पेशामा लामो समय बिताएका खनाल व्यवसायमा लागेपछि आफनो जिम्मेवारी थप बढ्दै गएको बताउँछन् । युवापुस्ता स्वदेशमा रोजगारी छैन् भन्नेर विदेशीने प्रवत्ति बढेको समय उनले सुरु गरेको व्यवसाय धेरैको लागि प्रेरणाको स्रोत बन्ने कुरामा कुनै दुई मत छैन् ।







