गएको २४ घण्टामा कोरोना संक्रमणका कारण झापाका १ जना सहित नेपालमा १७ जनाको मृत्यु भएको छ ।
झापामा मृत्यु हुनेमा अर्जुनधाराका ७० वर्षिय पुरुष रहेका छन् । उनको उपचारका क्रममा बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा आज बिहान मृत्यु भएको हो ।
योसँगै कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार २ सय ४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, २४ घण्टामा नेपालमा झापाका १४ जनासहित ५ सय २ जनामा कोरोना भाइरसको पुष्टि भएको छ। ३ हजार १ सय १२ जनाको पीसीआर परीक्षण गर्दा ५ सय २ जनालाई सङ्क्रमण भएको पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या २ लाख ११ हजार ४ सय ७५ पुगेको छ । यस्तै गएको २४ घण्टामा २ हजार ८ सय ७८ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको संख्या १ लाख ७९ हजार २ सय ४२ पुगेको छ । आज देशभर ३० हजार ९ सय ८६ जना सक्रिय सङ्क्रमित छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौमा २ सय ८९, ललितपुरमा ३८ र भक्तपुरमा १२ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसहित काठमाण्डौ उपत्यकामा सङ्क्रमितको संख्या ९७ हजार ५५२ पुगेको छ।







