चैत १५ । यो बर्षको आज सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सहभागी हुँदै छन् । जसमा छात्रा २ लाख ५० हजार ७ सय ७२, छात्र २ लाख ५३ हजार ६ सय २७ र लैङ्गिक अल्पसंख्यक १५ जना रहेका छन् । तीमध्ये १५ हजार ७ सय ४९ जना प्राविधिक धारतर्फका विद्यार्थी रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
गत वर्षको तुलनामा यसपटक परीक्षार्थी १२ हजारले कम छन् । यस वर्ष थपिएका २७ वटासहित देशभरका २ हजार ६४ केन्द्रमा परीक्षा हुँदैछ । यस्तै विदेशस्थित एक मात्र परीक्षा केन्द्र जापानमा गैरआवासीय नेपालीले सञ्चालन गरेको एभरेस्ट इन्टरनेशनल विद्यालयका २३ विद्यार्थी पनि सहभागी हुँदै छन् । उक्त विद्यालयबाट परीक्षा दिने यो तेस्रो ब्याच हो । त्यहाँ अनलाइनबाट प्रश्नपत्र पठाउने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।
चैत २७ सम्म हुने परीक्षामा सामुदायिक र निजी गरी १० हजार ८ सय ६ विद्यालयका परीक्षार्थी एसईईमा सहभागी हुँदैछन् । यसपटक नयाँ पाठ्यक्रमका आधारमा एसईई परीक्षा सञ्चालन हुन लागेको बोर्डले जनाएको छ । परीक्षार्थीको मूल्यांकनसमेत नयाँ लेटरग्रेडिङ पद्धतिअनुसार हुनेछ ।
झापामा १५ हजार ८२२ जना विद्यार्थी परीक्षामा सामेल हुँदैछन् ।
नियमिततर्फ साधारणमा १४ हजार ९५७ र प्राविधिक धारमा ५५० जना र ग्रेडबृद्धितर्फ ३१५ जना सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई झापाले जनाएको छ । झापामा छात्रभन्दा छात्राको संख्या बढी रहेको छ ।८ हजार १४५ जना छात्रा र ७ हजार ६७७ जना छात्र रहेको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख राजकुमार विकले बताए । झापामा ५७ वटा परीक्षा केन्द्र रहेका छन् ।







