विद्यार्थीको पढाइ सुधार्न धरान–१२ चतरा लाइनस्थित पब्लिक उच्च माविका शिक्षक तथा व्यावस्थापन समितिका सदस्यले विद्यार्थीको घरघमा जाने अभियान सुरु गरेका छन् ।
नमूना विद्यालयका रुपमा स्थापित भएको पब्लिक उच्च माविले विद्यालयको शैक्षिकस्तरलाई थप उकास्न घरदैलो अभियान सुरु गरेको हो । दसैँ–तिहारलगायत अन्य विभिन्न खाले बिदाको समयलाई सदुपयोग गर्दै विद्यालय व्यवस्थापन समिति र शिक्षकले पहिलो चरणमा विद्यार्थीको घरघरमा पुगेर घरदैलो अभियानको सुरु गरेको हो ।
विद्यालयका ६० शिक्षकले नर्सरीदेखि १० कक्षासम्मका करिब एक हजार जना विद्यार्थीका घरघरमा पुगेर अभिभावकसँग अन्तरक्रिया गरेका छन् । शिक्षक तथा व्यवस्थापन समितिका टोली सम्मिलित सदस्यले विद्यार्थीका पारिवारिक अवस्था, विद्यालय र विद्यार्थीको घरको दुरीलगायतका विषयमा छलफल गर्दै विद्यालयलाई सुधार गर्नको लागि अभिभावकसँग राय सङ्कलन गरेका छन् ।
घरदैलो अभियानका क्रममा विद्यार्थी र अभिभावकसँग अन्तरक्रिया गरेर तयार पारेको प्रतिवेदन शिक्षकले विद्यालयमा बुझाए । घरदैलो अभियानमा सहभागी करिब एक हजार अभिभावकका घरमा पुगेर अन्तरक्रिया गर्ने र अवस्था बुझ्ने काम भएको विद्यालयका प्रधानाध्यापक डा इन्द्र मोहन झाले जानकारी दिए । शिक्षकले बुझाएको प्रतिवेदन अध्ययनपछि शिक्षकबीच विद्यार्थीको पढाइ सुधार्न के कस्ता काम गर्न सकिन्छ भन्ने विषयमा थप अन्तरक्रिया गर्दे अभियानलाई निरन्तरता दिने प्रअ डा झाको भनाइ छ ।
“विद्यालयको शैक्षिकस्तर माथि उठाउन विद्यार्थीको पृष्ठभूमि बुझ्न जरुरी लागेर शिक्षकलाई घरघर पठाएका हौँ”, प्रअ डा झाले भने , “हाम्रो लागि यो अभियान नयाँ प्रयोग हो, यो अभियानले विद्यालयसँग विद्यार्थीका परिवारलाई जोड्ने काम गरेका छौँ, विद्यालयको शैक्षिक अवस्था सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरेका छौँ ।”







