२५ कार्तिक, झापा । झापाको बिर्तामोडमा साहित्यिक कार्यक्रम ‘सप्तरङी भाग ४’ शनिवार सम्पन्न भएको छ । साहित्य र संस्कृतिका क्षेत्रमा कृयाशिल झापाली साहित्य समाजले सप्तरङ्गी कार्यक्रम आयोजना गरेको हो । फरक शैलीमा आयोजना हुँदै सप्तरङी ७ विधाका ७ जना स्रष्टालाई समेटेर हरेक वर्ष कार्यक्रम गर्दै आएको समाजका अध्यक्ष हरी बरालले बताए ।
दीपावली तथा छैटको अवसर पारेर २०७५ सालबाट हरेक वर्ष आयोजना हुँदै आएको पनि बरालले जानकारी दिए ।
२०७१ सालमा स्थापना भएको समाजले साहित्यको माध्यम बाट समाज लाई सकारात्मक बाटोमा डोर्याउन र संस्कृतिको बिकास गर्ने उदेश्य रहेको अध्यक्ष बरालले बताए ।
कार्यक्रममा कविता तर्फ कवि तुलसी प्रसाद भट्टराई र गद्य कवितातर्फ कवि डिजी शर्माको प्रस्तुति रहको थियो ।
त्यसैगरी, मुक्तकतर्फ मुक्तककार मदन भण्डारी र गीततर्फ आयुष घिमिरेले गायन प्रस्तुत गरेका थिए । यस्तै स्वतन्त्र गजलमा गजलकार राज यात्री लम्साल र बहर गजलमा गजलकार दीप प्रदीपको प्रस्तुति सुनेर सहभागीहरुले ताली पिटेका थिए । रचना वाचनसँगै कार्यक्रममा बाल कलाकार साया सुवेदीले नृत्य प्रस्तुत गरेकी थिईन ।

कार्यक्रममा बरिस्ठ साहित्यकारहरु प्रकाश बुढाथोकी, केसव आचार्य, शिव शंकर थापा, गजलकार विवश बलिभद्र कोईराला, लिला अनमोल लगायतको उपस्थिती रहेको थियो ।







