इलामको रोङ गाउँपालिकाले अब विद्यालय जाने विद्यार्थीका अभिभावकलाई समेत पढाउने भएको छ । सामुदायिक विद्यालयमा अध्ययन गर्ने अभिभावकलाई शिक्षा दिने उद्देश्यले उक्त गाउँपालिकाले अभिभावक शिक्षा कार्यक्रमलाई तीव्ररूपमा अघि बढाइएको छ । त्यसका लागि सहजकर्ता नियुक्त गर्न सात दिने सूचना जारी गरिसकिएको गाउँपालिका उपाध्यक्ष विष्णुमाया भुजेलले जानकारी दिइन् ।
अभिभावक शिक्षालाई प्रभावकारी बनाउन कार्यपालिकाको बैठकले अभिभावक शिक्षा सञ्चालन कार्यविधि समेत स्वीकृत गरिसकेको उनको भनाइ थियो । सोही कार्यविधि अनुसार सहजकर्ताका लागि आवेदन आह्वान गरिएकोमा १५ जनाले आवेदन दिएका छन् । आवेदन दिनेहरुलाई चाँडै तालिमको व्यवस्थापन गरिने गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बो (सुवास)ले बताए ।
शिक्षाको गुणस्तर सुधारका लागि अभिभावकको भूमिका महत्वपूर्ण रहने भएकाले अभिभावक शिक्षा लागू गर्न लागिएको अध्यक्ष स्याङ्बोले बताए । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षा दिवस कै दिन अभिभावक शिक्षा लागू गर्ने घोषणा गरिएकामा गाउँपालिकाले अभिभावकलाई विद्यालयमै बोलाएर पढाउने योजना अनुसार महिनाको एक दिन विद्यालयमै ल्याएर पढाइने भएको छ ।







