झापा । लामो समय देखि बन्द रहेका बिद्यालय अब भने खुल्न्ने संकेत देखिन थालेको छ । गत भदौ १५ बाट भर्ना अभियान संचालन गर्ने संघीय सरकारले निणर्य गरेपनी कोरोना संक्रमण दर बढ्दै गएपछि स्थगन गरेको थियो । प्रदेश १ सामाजिक बिकास मन्त्रालय अन्तरगत शैक्षिक माहाशाखाले गरेको अध्ययन र स्थानीय सरकारको परामर्शमा विद्यार्थी संख्याको आधारमा जोर बिजोर वा २ सिफ्टको ब्यबस्था गरेर संचालन गर्न सुझाव प्राप्त भएसंगै दुबिधा शृजना हुन थालेको छ ।

रेडियो कार्यक्रम बालबालिका र शिक्षा संग कुराकानी गर्दै सामाजिक बिकास राज्य मन्त्री जसमाया गजमेरले अब सरकारले क्षेत्रगत स्थलको अनुगमन र स्थानीय सरकार तथा अभिभावकको समन्वयमा अगाडी बड्ने बताइन् । उनले भनिन् – “सधैँ बन्द मात्र भनेर हुँदैन अब निकास निकाल्नु पर्छ । सात वटै प्रदेश बाट केन्द्र सरकारलाई सुझाब मसौदा पठाएका छौँ । लगभग असोज बाट नयाँ शैक्षिक सत्र शुरु हुन्छ । कोरोना माहामारी कहिले सम्म रहन्छ भन्ने निश्चित नभएकाले अबको एकमात्र विकल्प साबधानी नै हो ।”

साप्ताहिक रुपमा झापा र इलामका रेडियोबाट प्रसारण हुँदै आएको कार्यक्रममा बोल्दै प्याब्सन झापा अध्यक्ष एलपी उप्रेतीले बिद्यालयहरु तयारी अवस्थामा रहेको भन्दै राज्यले निर्देशन दिए साबधानी अपनाएर संचालन गर्न आफुहरु तयार रहेको बताए ।

यस्तै बिर्तामोड नगरपालिका मेयर ध्रुव कुमार शिवाकोटीले बिद्यालय संचालन गर्ने कुरामा नगर सहमत रहेको बताएका छन । उनले भने-“अब एक गाउँका एक दुई परिवार लाई कोरोना पोजेटिभ देखिएमा पूरा नगरपालिका सिल गर्नु हुन्न सावधानी अपनाएर बिद्यालय संचालन गर्नु पर्छ ।”







