नेकपा माओवादी केन्द्रले सोमबार प्रदेश र प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारहरुको बन्दसूची बुझायो । तर यो सूचीमा भएकाहरुको नाम ‘डमी’ मात्र हो, पार्टी नेतृत्वले कुनै पनि बेला हेरफेर गर्न सक्छ ।
महासचिव देव गुरुङ र उपमहासचिवद्वय गिरिराजमणि पोखरेल र वर्षमान पुनको कार्यदलले बनाएको बन्दसूचीमा समावेश गरिनेहरुको नामबारे छलफल गर्न दिउँसो २ बजे पदाधिकारी बैठक बोलाइएको थियो । तर सोखुलुम्बु गएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ४ बजे मात्र काठमाडौं आइपुगे । उनले भनिदिए, ‘अहिले कार्यदलले बनाएकै सूची बुझाउनू, आवश्यकता अनुसार संशोधन गरौंला ।’
प्रदेश तथा प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिकामा आयोगमा पेश भएको समानुपातिक उम्मेदवारहरुको बन्दसूची समानुपातिक प्रतिनिधित्व र समावेशी सिद्धान्तको प्रतिकुल भएमा मात्रै फेरबदल गर्न मिल्थ्यो । कुनै क्लष्टरको उम्मेदवारको नाम हटाउनुपरेमा नयाँ नाम अन्तिममा थपिन्थ्यो । त्यसैले सुरुमा सूची बनाउँदै दलहरुले निकै गृहकार्य गर्नुपर्थ्यो ।







