चालु आर्थिक वर्ष लागेपछि ४१ अर्ब ८६ करोड बराबरको ट्रेजरी बिल राष्ट्र बैंक आफैंले खरिद गरेको छ । राष्ट्र बैंकले नवीकरणका लागि बोलकबोल गरेको ट्रेजरी बिलको ब्याजदर दोहोरो अंकमा पुगेपछि राष्ट्र बैंकले आफैं खरिद गरेर ब्याजदरमा हस्तक्षेप गरेको हो ।
राष्ट्र बैंकले २ असोज आइतबार २८ दिन, ९१ दिन र १८२ दिन अवधिको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल गरेको थियो । जसमध्ये २८ दिन अवधिको २ अर्बको ट्रेजरी बिल बोलकबोल गरेको थियो । २ अर्ब नै बैंकहरुलाई नवीकरण गरिएको छ । जसको डिस्काउन्ट रेट न्यूनतम ८.७८०६ प्रतिशत र अधिकतम ९.१९९७ प्रतिशत तथा औसत ८.९३३५ प्रतिशत कायम भएको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै आइतबार नै ९१ दिनको ५ अर्ब ५३ करोड बराबरको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल भएको थियो । जसमध्ये २ अर्ब ४२ करोड राष्ट्र बैंकले नै खरिद गरेर ३ अर्ब ११ करोड बैंकहरुलाई नवीकरण गरिएको छ । जसको डिस्काउन्ट रेट न्युनतम ८.९९० र अधिकतम ११.२२१८ प्रतिशत तथा औसत ९.८७४७ प्रतिशत कायम भएको छ ।
आइतबार नै बोलकबोल भएको १८२ दिन अवधिको ४ अर्ब ३० करोडको ट्रेजरी बिल नवीकारणका लागि बोलकबोल भएकोमा २ अर्ब ३९ करोडको राष्ट्र बैंकले नै खरिद गरेर १ अर्ब ९१ करोड मात्रै बैंकहरुलाई नवीकरण गरेको छ । जसको डिस्काउन्ट रेट न्यूनतम ९.१ प्रतिशत र अधिकतम ९.९९०१ प्रतिशत कायम हुँदा औसत ९.६६७६ प्रतिशत कायम भएको छ ।
साउन पहिलो साता मौद्रिक नीति सार्वजनिक गरेका राष्ट्र बैंकले बैंकदरमा वृद्धि गर्नुको साथै राष्ट्र बैंकबाट पाउने तरलता सुविधामा पनि कडाइ गरेको थियो भने बैंकहरुले अल्पकालीन ब्याजदर (ट्रेजरी बिलको ब्याजदर) बढाएर १४ प्रतिशतसम्म पुर्याएपछि राष्ट्र बैंकले हस्ताक्षेप गरेर एकल अंकमा झारेको थियो ।







