बिर्तामोड । केही समय अगाडि टिकका बिरुवाले झाँगिएको ठाउँ अहिले मनमोहक पर्यटकीय स्थल बनेको छ । झापा बिर्तामोड नगरपालिका ९ मा १ बर्ष अगाडि निर्माण सुरु भएको ‘चिन्तन चौतारी’ अब आन्तरिक पर्यटकका लागि तयार भएको हो ।

५ बर्ष अगाडि टिकका बिरुवा रोपिएको थियो । बिरुवाको संरक्षणले मनमोहक देखिने सो ठाउँमा स्थानीय युवा प्रकाश बुढाथोकीले करिब ३ करोडको लगानीमा सुरु गरेको चौतारी निर्माणको अन्तिम चरणमा पुगेको छ । दशैँ अगाबै उद्घाटन गर्ने लक्ष्य सहित लकडाउनमा पनि २५ जना श्रमिकले काम गर्दै आएको संचालन बुढाथोकीले बताए । गत नयाँ बर्षको अवसरमा उद्घाटन गर्ने योजनाका साथ थालिएको थियो तर कोरोना र लकडाउनले काम गर्न नपाएको उनले बताए ।

रिसोर्टमा होटल सहित स्विमिङ्ग पुल, पार्टी प्यालेस र सेमिनार हलको ब्यबस्था गरिएको छ । आन्तरिक पर्यटकलाई लक्ष्यित गरि निर्माण गरिएको रिसोर्ट निर्माण सम्पन्न भए संगै गाउँको मुहार फेरिने बिश्वास गरिएको छ ।
रिसोर्ट परिसरमा माछा, लोकल कुखुरा पालन संगै आगन्तुक लाई पोखरी भ्यु ले आकर्षण गर्न सकिने र आन्तरिक पर्यटकको रोजाईको केन्द्र बन्नेमा बुढाथोकी ढुक्क छन ।

राजनीति र व्यावसायिक क्षेत्रमा रहेका उनले स्थानीय क्षेत्रमा पर्यटनको माध्यम बाट बिकास गर्न सकिने भएकाले चौतारीको निर्माण गरेको बताए । सीप भएका युवालाइ रोजगारीको अवसर सृजना गर्न सके आफ्नै ठाउँमा व्यावसायिक बन्न सहयोग पुग्ने देखिन्छ ।









