झापा । बिर्तामोड राउण्ड टेबल २७ ले बिर्तामोड १० स्थित चर्मधाप प्राथमिक विद्यालयमा कक्षा कोठा निर्माण गरेको छ । पूर्वाधार अभावमा विद्यार्थीको अवस्था दयनीय भएको पाइएपछि राउण्ड टेबलले कक्षा कोठा निर्माण गरिदिएको हो ।
विद्यार्थीको सुविधाका लागि दुईवटा कक्षा कोठा निर्माण गरिएको बिर्तामोड राउण्ड टेबल २७ का अध्यक्ष अमित अग्रवालले बताए । राउण्ड टेवलले आज बिहान पत्रकार सम्मेलन गरी कक्षा कोठा निर्माणबारे जानकारी गराएको हो ।
के हो बिर्तामोड राउण्ड टेबल २७ ?
राउण्ड टेबल नाफारहित अन्तर्राष्ट्रिय संगठन हो । भारतमा मात्रै यसका २३६ वटा शाखा छन् । नेपालमा बिर्तामोड राउण्ड टेबल २७ औँ शाखा हो । यो शाखा पाँचवर्षदेखि क्रियाशील छ ।
नेपालमा यसका ३३ शाखा छन् । बिर्तामोड राउण्ड टेबल २७ मा अहिले २२ जना सदस्य छन् । सदस्यको उमेर समूह १८ देखि ४० हुनुपर्छ । यसले फ्रिडम टु एजुकेसनको नारा बोकेको छ ।
सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधार्ने अभियानमा पूर्वाधार व्यवस्थापनका लागि यो संस्थाले सघाउँदै आएको निवर्तमान अध्यक्ष सुमित साहेवालाले बताए ।
यसअघि बिर्तामोड राउण्ड टेबल २७ ले बिर्तामोडको अनारमनी आधारभूत विद्यालयमा कम्प्युटर ल्याव, खानेपानी र पङ्खा व्यवस्थापन गरेको थियो ।
चौबिस लाख रुपैयाँको लागतमा दुईवटा कक्षाकोठा र विद्यालय परिसरको पाँच कठ्ठा जग्गामा कम्पाउण्ड वाल निर्माण गरिएको राउण्ड टेवलका सूचना अधिकारी दीपक मित्तलले बताए । उनका अनुसार यसवर्ष विद्यालयमा दुईवटा शौचालय र खानेपानी व्यवस्थापन गर्ने लक्ष्य राखिएको छ ।
भदौ १३ गते बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाई र राउण्ड टेबल नेपालका अध्यक्ष आनन्द वायतिले संयुक्तरुपमा कक्षा कोठा विद्यालयलाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।
पूर्वाधार व्यवस्थापन अभावमा विद्यार्थीको संख्या नघटोस् भन्ने उद्देश्यले कक्षा कोठा बनाएर विद्यालयलाई हस्तान्तरण गर्न लागिएको सूचना अधिकारी मित्तलले बताए । कक्षा कोठा निर्माणका लागि बिर्तामोड नगरपालिकासहित विभिन्न बैँक तथा वित्तिय संस्थाले सहयोग गरेका छन् ।







